हेटौंडाः खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (नेपाल खाद्य संस्थान) ले मकवानपुरको बागमती गाउँपालिकाबाट खसीबोका किन्ने भएको छ । नेपालीहरुको महान चाड दशैं, तिहार र छठलाई लक्षित गरेर कम्पनीले यस पटक पनि खसीबोका किन्न लागेको हो ।
कम्पनीले यसवर्ष पनि मकवानपुरको बागमती गाउँपालिकाबाट खसीबोका किन्न लागेको हो । त्यसका लागि बुधबार कम्पनी र गाउँपालिकाबीच सम्झौता भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम दर्जीले जानकारी दिनुभयो । यसअघि लगातार दुई वर्ष पनि कम्पनीले बागमतीबाट खसीबोका खरिद गरेको थियो । बागमतीमा सुरुको वर्षमा १ सय ५ वटा र दोस्रो वर्ष ३ सय ५० वटा खसीबोका खरिद गरेको कम्पनीले यसवर्ष भने ५ सय वटा खसीबोका किन्ने भएको छ ।
गाउँपालिकाको ६ नम्बर वडाबाहेक ८ वटा वडाका बाख्रापालक कृषकहरुले शुक्रबार वडा नम्बर ८ स्थित फापरबारीमा उपस्थित भएर खसीबोका बिक्री गर्न सक्नेछन् । ६ नम्बर वडाका किसानहरुले भने शनिबार बेच्न सकिने जनाइएको छ ।
जिउँदो खसी २० देखि २५ केजीसम्मलाई प्रतिकेजी ५ सय ८५ रुपैयाँ, २५ केजीभन्दा माथिलाई प्रतिकेजी ६ सय ५ रुपैयाँ मूल्य तोकिएको छ । यस्तै, १८ केजीभन्दा माथिका बोकालाई प्रतिकेजी ५ सय ७० रुपैयाँ खरिद मूल्य तोकिएको छ । कृषकहरुले खसीबोका बेचेको रकम सोही स्थानमै प्राप्त गर्ने प्रशासकीय अधिकृत दर्जीले बताउनुभयो ।