विद्यार्थीलाई पुरस्कृत गर्नुहुँदै वडाअध्यक्ष जुना दाहाल ।

हेटौँडाः हेटौँडा–११, नवलपुरस्थित त्रिभुवन माध्यमिक विद्यालयको अभिभावक भेला बुधबार सम्पन्न भएको छ । अभिभावक भेलाको अवसरमा गत शैक्षिक सत्रमा कक्षागत प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कृत गरिएको छ ।

विद्यार्थीलाई पुरस्कारस्वरुप शैक्षिक सामग्री प्रदान गरिएको थियो । अभिभावक भेलामा प्रधानाध्यापक हस्तलाल श्रेष्ठले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । १२ कक्षासम्म पठनपाठन हुने विद्यालयले फुड एण्ड डेरी टेक्नोलोजी विषय अध्यापन गराउँदै आएको छ । विद्यालयमा आठ सय ८३ जना विद्यार्थी अध्ययनरत छन् । अभिभावक भेलाको अवसरमा विद्यालयका अभिभावक र सहयोगीलाई सम्मान समेत गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक उप्रेतीको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यमा ६३ औं अभिभावक भेला भएको हो । कार्यक्रममा वडाअध्यक्ष जुना दाहालको पनि आतिथ्य रहेको थियो ।