हेटौँडाः नेपालीहरुको प्रमुख पर्व विजयादशमी आज बिहिबारबाट सुरु भएको छ । वडा दसैंको पहिलो दिन आज घटस्थापना घरघरमा जमरा राख्ने तथा घटको स्थापना गरेर मनाईंदैछ । सुख–समृद्धि र ऐश्वर्यको प्रतीक मानिने कलश स्थापना गर्ने दिन नवरात्रको पहिलो दिन अर्थात् घटस्थापना हो । घटलाई सुख–समृद्धि र ऐश्वर्य दायक तथा मंगलकारी मान्ने गरिएको छ ।
यसरी स्थापना गर्ने घटको मुखमा भगवान विष्णु, गलामा रुद्र एवम् महादेव, मूलमा ब्रह्मा तथा मध्यमा देवी शक्तिको निवास मानेर सोही अनुसार पूजा गर्ने गरिन्छ । नवरात्रिको समयमा ब्रह्माण्डमा उपस्थित शक्तिहरुको घटमा आह्वान गरेर उनीहरुलाई कार्यरत गर्ने गरिएको छ । यो घटको पूजा गर्नुले घरको सबै विपददायक तरंगहरु नष्ट भएर सुख शान्ति र समृद्धि आउने धार्मिक विश्वास रहेको छ ।
घटनस्थापनादेखि नवमीसम्म शक्तिपीठहरुमा भक्तजनले पुजा गर्ने गर्छन् । मकवानपुरका विभिन्न मठमन्दिरमा भक्तजनले नवरात्रीभर पुजा गर्छन् । हेटौँडा–१० स्थित भुटनदेवी मन्दिर, हेटौँडा–९ स्थित दुर्गा मन्दिर, हेटौँडा–१५ स्थित चुरियामाई मन्दिरलगायत विभिन्न मठमन्दिरमा भक्तजनको बाक्लो उपस्थिति रहने गर्दछ ।