प्रतियोगिताका लागि खेल सामग्री हस्तान्तरण गरिँदै ।

हेटौंडाः नेपाल मुस्लिम इत्तेहाद संगठन हेटौंडा नगर कमिटीको आयोजनामा हेटौंडामा खसी कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । बुधबार संगठनको बागमती प्रदेश कमिटी अध्यक्ष मोहम्मद समिमले ब्याटिङ र हेटौंडा–४ का वडा सदस्य जनरल श्रेष्ठले बलिङ गरेर प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।

टिममा ६ जना खेलाडी रहने प्रतियोगिता ५ ओभरमा खेलाइएको संगठन हेटौंडा कमिटीका अध्यक्ष एवम् प्रतियोगिता संयोजक मोहम्मद अन्सारीले बताउनुभयो । ६ टिम सहभागी प्रतियोगितामा बुधबार लिग चरणमा खेल खेलाएर सेमिफाइनल खेल्ने टोलीको टुङ्गो लगाएको उहाँले बताउनुभयो । प्रतियोगिताको सेमिफाइनलमा राइजिङ स्टार क्लब, भ्याप्सन क्लब, न्यु मर्निङ युथ क्लब र ईस्लामिया क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनलमा बिहीबार बिहान भ्याप्सन र ईस्लामिया तथा राइजिङ र न्यु मर्निङ बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल खेल बिहिबार दिउँसो हुनेछ । बुधबार भएको लिगको पहिलो खेलमा भ्याप्सनले राइजिङ स्टारलाई, न्यु मर्निङले सुभाङ क्लबलाई, भ्याप्सनले नेपाल स्टारलाई, न्यु मर्निङले ईस्लामियालाई, न्यु राइजिङले नेपाल स्टार र इस्लामियाले सुभाङलाई हराएको थियो । प्रतियोगिताको विजेताले खसीसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ट्रफी प्राप्त गर्नेछन् ।