हेटौंडाः मकवानपुर प्रहरीले लागुऔषध ओनरेक्ससहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–८ का ३४ वर्षीय शंकर तितुङ रहेकोे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मंगलबार बिहान ४ बजेर ३० मिनेटको समयमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले हेटौैंंडा–१५, रातोमाटे चेकपोष्टस्थित पुर्व–पश्चिम सडकखण्डमा सवारी साधानहरु रोकी सुरक्षाजाँच गर्ने क्रममा वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ ख ८१८१ नम्बरको यात्रुबाहक बसमा सवार तितुङलाई शंका लागेर खानतलासी गर्दा ओनरेक्स फेला पारी बरामद गरेको जनाएको छ ।
प्रहरीले उनले बोकेको झोलाभित्र लुकाई छिपाई गरी ल्याइएको ओनरेक्स १ सय एमएलको १५ बोतल फेला पारेको हो । उक्त लागुऔषधसहित तितुङलाई नियन्त्रणमा लिएर जिल्ला अदालत मकवानपुरबाट लागुऔषध कसुर मुद्धामा १५ दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।