हेटौँडाः गत बिहीबारदेखि अविरल परेको वर्षाका कारण हेटौँडा–काठमाडौं सडक अन्तर्गत छोटो मार्गहरु सम्पर्क विच्छेद भएको थियो । शुक्रबार सामान्य अवस्था रहेको हेटौँडा काठमाडौं जोड्ने सबै सडक शनिबार बिहानबाट ठप्प भए ।
विशेषगरी हेटौँडा–काठमाडौं जोड्ने छोटो दुरीको सडकहरुमा बाढी पहिरोले बढी क्षति पुर्याएको छ । छोटो दुरीको मार्ग मध्ये नियमित रुपमा सञ्चालन हुँदै आएको हेटौँडा–फाखेल–काठमाडौं र हेटौँडा–सिस्नेरी–दक्षिणकाली काठमाडौं सडक चल्न नसक्ने गरी बाढी पहिरोले क्षति पुर्याएको छ । ती दुवै सडकहरु कुलेखानी हुँदै हेवीबाट छुट्टिन्छन् । जहाँ कुलेखानी जलाशयको पानी छोड्दा सिमखोलाको पुलको एक स्पानमा क्षति पुगेको छ भने पुलसम्म पुग्ने पहुँचमार्ग बगाएको छ ।
हेटौँडा फाखेल काठमाडौं सडकको कुलेखानीदेखि हुमानेसम्मको खण्डमा सबैभन्दा बढी क्षति पुगेको छ । बागमती प्रदेश सरकारको प्रादेशिक सडक गुरुयोजना अन्तर्गत प्रदेश मार्गमा समेटिएको उक्त सडकमा मकवानपुरतर्फ कुलेखानीसम्मको पहिरो हटाइएको छ भने काठमाडौं तर्फबाट हुमानेसम्म बाटो एकतर्फी खुल्ला गरिएको छ । प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेर उक्त सडक मर्मत कार्य गरिरहेको छ भने केही दिनमा नै सो सडक संचालनमा ल्याउने लक्ष्य सरकारको रहेको छ ।
हुमानेबाट मकवानपुरको महालक्ष्मी खेलासम्मको खण्डमा रहेका पहिरो पनि पन्छाउने काम भइरहेको छ । सो सडक खण्डको प्रमुख समस्याको रुपमा महालक्ष्मी खोलाको किनारको खण्ड हो । महालक्ष्मी खोलामा आएको बाढीले करिव २०० मिटर सडक खण्ड नै बढाएको छ । स्ल्याव ढलान गरिएको सो खण्डको सडक भएको स्थानमा खोला बगिरहेको छ ।