हेटौँडाः विश्व दृष्टि दिवसको अवसरमा हेटौंडामा बालबालिकाको निशुल्क आँखा परीक्षण गरिँदै छ । हेटौंडा सामुदायिक आँखा अस्पतालले मंगलबारबाट सप्ताहव्यापी आँखा शिविर सुरु गरेको हो ।
यस वर्ष ‘बालबालिकाको आँखालाई माया गरौँ’ भन्ने नाराका साथ विश्व दृष्टि दिवस मनाइँदैछ । हेटौँडा सामुदायिक आँखा अस्पतालका व्यवस्थापक सुधीर श्रेष्ठका अनुसार सप्ताहव्यापी कार्यक्रम अन्तर्गत हेटौँडाका मन्टेश्वरी र बाल आश्रमहरुमा रहेका बालबालिकाका आँखा जाँच गरिने भएको छ । मंगलबार हेटौंडा–४ स्थित लिटिल वडी प्रि–स्कूल र हेटौँडा मन्टेश्वरीका बालबालिकाहरुको आँखा जाँच गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार दुवै मन्टेश्वरीमा गरी २ सय ९ जना बालबालिकाहरुको आँखा जाँच गरिएको छ भने आँखा अस्पतालमा आएका २० जना बालबालिकाहरुको पनि आँखा जाँच गरिएको छ । आँखा जाँच गर्दा जटिल समस्या भने नदेखिएको उहाँले बताउनुभयो ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत हेटौँडा–४ स्थित अटिजम केयर स्कुलमा २५ जना, किड्स गार्डेन मन्टेश्वरीमा १ सय २० जना, हेटौंडा–५ स्थित पहिलो पाइलामा ६५ जना, असोज २० गते हेटौंडा–११ स्थित मामाघरमा २० जना र सोही वडास्थित बाल सुधार गृहमा ७० जना बालबालिकाको आँखा परीक्षण गर्ने तालिका छ । कार्यक्रम समापनका दिन बालबालिकाहरुलाई आँखा स्वास्थ्य सम्बन्धी जनचेतना जगाउन अस्पतालमा आउने बालिबालिकाहरुबीच चित्रकला प्रतियोगिता पनि आयोजना गर्ने जनाएको छ ।