हेटौँडाः बाढी पहिरोपीडित परिवारलाई राहत सामग्री लिएर लायन्स क्लबको टोली मकवानपुरको सिस्नेरीतर्फ जाँदैछ । मंगलबार दिउँसो लायन्सको टोली सिस्नेरी हिँडेको हो । स्थानीय प्रशासनको आव्हानमा लायन्स क्लब इन्टरनेशनल र स्थानीय लायन्स क्लबहरुको सहयोगमा करिब ४ लाख रुपैयाँ बराबरको सहयोग सामग्री लिएर मंगलबार साँझ सिस्नेरी पुग्ने गरी हिँडेको हो ।
लायन्स क्लबले ६५ परिवारका लागि खाद्यान्नसहित म्याट र त्रिपाल लिएर गएको छ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एस नेपालकी गभर्नर टासी डोल्मा तुम्बाहाङफेको नेतृत्वमा एक टोली सिस्नेरी गएको हो । हेटौँडाबाट ईन्द्रसरोवर गाउँपालिका–२ स्थित खानीखोलासम्म मात्रै गाडी जान सक्ने अवस्था रहेकोले सिस्नेरीतर्फबाट सहयोग सामग्री लिनका लागि सीमानासम्म बोलाइएको लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एस नेपालका जनसम्पर्क अधिकारी जेपी यादवले जानकारी दिनुभएको छ ।
लायन्सले प्रतिपरिवार २५ केजी चामल, २ केजी दाल, २ थान त्रिपाल, तेल २ लिटर, साबुन २ थान, बिस्कुट २ प्याकेट, केराउ २ केजी, नुन १ केजी र सोयाविन १ केजी उपलब्ध गराउने छ । स्थानीय प्रशासनले बाढी–पहिरो प्रभावित क्षेत्रमा सहयोगको आवश्यकता रहेको जानकारी प्राप्त भएपछि लायन्स क्लबको अन्तर्राष्ट्रिय कोषबाट २ लाख रुपैयाँसहित स्थानीय क्लबहरुबाट सहयोग संकलन गरिएको यादवको भनाइ छ । छोटो अवधिमा तत्कालै सहयोग संकलन गरेर वितरण गरिन लागेको र आगामी दिनमा पनि लायन्स क्लबले आफ्नो सञ्जालको प्रयोग गरेर थप सहयोगको कार्य गरिने स्पष्ट पार्नुभएको छ ।
असोज ११ र १२ गतेको निरन्तरको झरी र भारी वर्षाले सिस्नेरी बजारको २५ भन्दा बढी घर बगाएर बगरमा परिणत भएको छ । हेटौँडा–भीमफेदी–कुलेखानी–फर्पिङ सडक खण्डमा पनि ठूलो क्षति पुगेको छ ।