हेटौँडाः काभ्रे जिल्लामा बाढी–पहिरोमा परी बेपत्तामध्ये सोमबार थप १७ जनाको शव फेला परेको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार असोज १२ गतेको बाढी पहिरोमा परे काभ्रेका विभिन्न स्थानमा सोमबार एकैदिन १७ जनाको शव फेला परेको हो ।
सोमबार काभ्रेको बेथानचोक गाउँपालिका–४, चलालगणेश थानस्थित चलाला गणेश रोडाढुङ्गा उद्योग प्रालिमा पहिरोमा परी बेपत्ता भएका दुई जनाको शव फेला परेको छ । उद्योगमा कार्यरत बेथानचोक–३ का २२ वर्षीय अजय तिमल्सिना र काभ्रेकै खानीखोला गाउँपालिका–७ का २० वर्षीय अमृत रिजाल मृत भेटिएको हो । मृतक दुवै जनाको शव परिवारलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ ।
सोमबार दिउँसो बेथानचोक–४ स्थित पाटीखर्कमा पहिरोले मानिस पुरेर बेपत्ता भएका एक पुरुषको शव फेला परेको छ । शनिबार सोही ठाउँका २५ वर्षीय काशिराम महत घर माथिबाट खसेको पहिरोमा परी बेपत्ता भएका थिए । सोमबार प्रहरीले उनलाई मृत अवस्थामा फेला पारी परिवारलाई जिम्मा लगाएको छ । यस्तै सोमबार पनौती नगरपालिका–११ स्थित थुम्कीमा पहिरोले पुरेर बेपत्ता रहेका दुई जनाको शव फेला परेको छ । सोही ठाउँकी ६० वर्षीया मैया भण्डारी र ४० वर्षीया सीता सापकोटाको शव फेला परेको हो । गत शनिबार बिहान ६ बजे घरमाथिबाट पहिरो खस्दा भण्डारीकी श्रीमान् ६९ वर्षीय अर्जुन भण्डारी र २२ वर्षीय नाती निर्मल सापकोटाको सोही दिन मृत्युु भएको थियो ।
यस्तै रोशी गाउँपालिका–११ स्थित झ्याकुरे खोला तर्ने क्रममा बगाएर बेपत्ता भएकी एक महिलाको शव फेला परेको छ । रामेछापको खाँडादेवी गाउँपालिका–३ स्थित नमुना बस्तीकी ३५ वर्षीया अञ्जु बस्नेत माझी खोला तर्ने क्रममा बगाएर बेपत्ता भएकी थिइन् । सोमबार बिहान सोही वडास्थित माम्तीमा उनको शव फेला परेको जनाएको छ ।
यस्तै सोमबार नमोबुद्ध नगरपालिका–५, बोहोरे थोकर डाँडाटोलमा पहिरोले पुरेर बेपत्ता भएकामध्ये तीन जनाको शव फेला परेको छ । शनिबार पहिरोमा परी बेपत्ता भएका ५५ वर्षीय बल बहादुर विक, उनकी श्रीमती ४० वर्षीय कालिका विक र सोही ठाउँकी ६८ वर्षीय रमादेवी धितालको शव फेला परेको हो । धितालकने ७२ वर्षीय श्रीमान गंंगा बहादुर भने अझै बेपत्ता रहेको जनाएको छ ।
यस्तै बेथानचोक–४ स्थित सल्लामा घरमाथिबाट खसेको पहिरोमा परी बेपत्ता भएका एक पुरुषको पनि शव फेला परेको छ । फेदीमुल खोला बस्ने ३१ वर्षीय शान्त कुमार तामाङको शव सोमबार फेला परेको हो । प्रहरीले सोमबार शव निकालेर प्रक्रिया पूरा गरी आफन्तलाई शव बुझाएको जनाएको छ । यस्तै मण्डनदेउपुर नगरपालिका–१० स्थित हल्देटार पहिरोमा परी बेपत्ता ५२ वर्षीय साईली तामाङको शव फेला परेको छ । शनिबार गोठमा जाने क्रममा गोठ माथिबाट आएको पहिरोमा परी तामाङ बेपत्ता भएका थिए ।
सोमबार मण्डनदेउपुर नगरपालिका–१० स्थित तीनधारामा पहिरोमा परी बेपत्ता एक वृद्धको शव भेटिएको छ । शनिबार घरमाथिबाट आएको पहिरोमा परी बेपत्ता ७६ वर्षीय पञ्च बहादुर तामाङ मृत भेटिएको हो । मृतक वृद्धको शव परिवारलाई जिम्मा लगाइसकेको पनि प्रहरीले जनाएको छ । यस्तै मण्डनदेउपुर नगरपालिका–१२ स्थित ज्यामदीमा पहिरोमा परी बेपत्ता भएका ५७ वर्षीय होम बहादुर पराजुलीको शव फेला परेको छ । डेरीमा दुध पु¥याएर घर फर्किने क्रममा शनिबार पराजुली पहिरोमा परी बेपत्ता भएका थिए ।
सोमबार रोशी गाउँपालिका–१० स्थित वाल्टिङमा पहिरोले पुरेर बेपत्ता भएका एक पुरुषको शव फेला परेको छ । सोही ठाउँका ३४ वर्षीय अमृक शाही घरमाथिबाट आएकोे पहिरोमा परी बेपत्ता भएकोमा सोमबार मृत फेला परेको हो । सोमबार पनौती नगरपालिका–२ स्थित तोरीखुरीयामा पहिरोमा परी बेपत्ता दुई जनाको शव फेला परेको छ । सोही ठाउँकी २७ वर्षीया गोपिनी दाहाल र उनकी २ महिने भान्जी प्रिन्सा बजगाईको शव फेला परेको हो । शनिबार बिहान ११ बजेको समयमा घर माथिबाट पहिरो आएर घर पुर्दा उनीहरु बेपत्ता भएका थिए ।
यस्तै रोशी गाउँपालिका–९ स्थित रजवासमा पहिरोले पुरी बेपत्ता भएकी एक महिलाको शव फेला परेको छ । सोमबार ६१ वर्षीया लक्ष्मी साह ठकुरीको शव फेला परेको हो । शनिबार घर माथिबाट खसेको पहिरोमा परी ठकुरी बेपत्ता थिए ।