हेटौंडाः हेटौंडा–१ स्थित हेटौंडा अस्पतालमा एक महिनामा १९ जना किशोरी आमा बनेका छन् । हेटौंडा अस्पतालमा गत भदौ महिनाको अवधिमा १९ जना किशोरीहरु आमा बनेका हुन् ।
हेटौंडा अस्पतालको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को भदौ महिनामा १९ जना किशोरी आमा बनेको अस्पतालका मेडिकल रेकर्डर हरिस मल्लले जानकारी दिनुभएको छ । हेटौंडा अस्पतालबाट करिब ३ सय जनाले गर्भवती सेवा लिएको उहाँले बताउनुभयो । अस्पतालमा २ सय ९८ जनाले प्रसुति गराएकोमा ९५ जनाले सामान्य अवस्थामा बच्चा जनमाएका थिए भने ८ जनाले जटिल अवस्थामा बच्चा जन्माउनुपरेको मेडिकल रेकर्डर मल्लले बताउनुभयो । मेडिल रेकर्डर मल्लका अनुसार १ सय ६४ जना बालक र १ सय ३५ जना बालिकालाई जन्म दिइएको छ ।
किशोरी आमा बन्दा व्यक्तिगत स्वच्छतामा ध्यान नपुग्ने, जन्मेको शिशुको हेरचाहमा कमी हुने, आमा र शिशु दुबैमा समस्या देखिने गरेको छ । किशारीहरुले सानै उमेरमा बच्चा जन्माउने गरेका कारण उनीहरुको पाठेघरमा समस्या परेर आमा र बच्चा दुबैलाई जोखिम हुनसक्ने चिकित्सकहरुले बताएका छन् । किशोरी आमाले जन्माएको शिशुमा पनि विभिन्न समस्या देखिने भएकाले किशोरकिशोरीहरुलाई सचेत गराउन आवश्यक रहेको चिकित्सकहरुले बताएका छन् ।