जेष्ठ नागरिकलाई सम्मान गरिँदैको तस्वीर ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले ६५ जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ । सोमबार उपमहानगरले ३४ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको पूर्वसन्ध्यामा एक कार्यक्रम आयोजना गर्दै जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।

उपमहानगरको महिला तथा बालबालिका शाखाको आयोजना तथा जेष्ठ नागरिक समन्वय समितिको समन्वयमा कार्यक्रम भएको हो । महाशाखाकी प्रमुख विष्णुकुमारी लामिछानेका अनुसार उपमहानगरपालिकाले १३ वटा वडाको ६५ जना जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।

कार्यक्रममा जेष्ठ नागरिक वडा समन्वय समितिबाट ६० वर्ष उमेर माथिका ५–५ जना सहभागी थिए । सहभागी जेष्ठ नागरिकहरुले विभिन्न कलासमेत प्रस्तुत गरेका थिए । जेष्ठ नागरिकहरुले भजन, दोहोरी, नृत्य र कविता वाचनलगायत प्रस्तुति राखेका थिए ।

कार्यक्रममा वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १७, १८ र १९ समितिबाट मात्र जेष्ठ नागरिकहरुले कला प्रदर्शन गरेका हुन् । नगरपालिकाले हरेक समूहलाई ५–५ हजार रुपैयाँसहित ढाका पछ्यौरा उपहार दिएर जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । कार्यक्रममा २ सयभन्दा बढी संख्यामा जेष्ठ नागरिकहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको अवसरमा उपमहानगरपालिकाले नगरभित्रका तीन वटा वृद्धाश्रमलाई न्यानो कपडा (सिरक) वितरण गरेको छ । हेटौंडा–२ स्थित ओम वृद्धाश्रमलाई २५ थान, हेटौंडा–१५ स्थित दिव्यसेवा निकेतनलाई २८ थान र हेटौंडा–१७ स्थित श्रीमद्भागवत आश्रमलाई ५ थान सिरक सहयोग गरेको हो । आश्रममा आश्रित संख्याको आधारमा उपमहानगरले सिरक सहयोग गरेको हो । कार्यक्रमको खर्च विवरण केही दिनमा समीक्षा गरेर सार्वजनिक गरिने जनाइएको छ ।

जेष्ठ नागरिक मञ्च हेटौंडा नगर समन्वय समितिका कार्यबाहक अध्यक्ष रामबहादुर नेपालीको सभाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिकाको नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नगरका उपप्रमुख राजेश बानियाँलगायत वडाध्यक्षहरुको सहभागिता रहेको थियो ।