साधारणसभामा सेवा केन्द्रको विवरण प्रस्तुत गर्नुहुँदै अध्यक्ष बर्तौला ।

हेटौँडाः दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको मनहरी सदस्य सेवा केन्द्रको छैठौं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । दिव्यतारा सहकारीको २६ औं वार्षिक साधारणसभा अन्तर्गत मनहरी सदस्य सेवा केन्द्रको साधारणसभा भएको हो । सहकारीका मनहरी संयोजक प्रकाश बर्तौलाको अध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिका ७ नम्बर वडा अध्यक्ष ठाकुरराम तितुङको प्रमुख आतिथ्य रहेको थियो ।

वडा अध्यक्ष तितुङले सहकारीबाट ऋण लिनुका साथै बचत गर्ने बानीको समेत विकास गर्न सुझाव दिनुभयो । ‘अप्ठेरोमा ऋण लिनका लागि मात्रै होइन सहकारीलाई सहज हुँदा बचत गर्ने गरियो भने पक्कै राम्र्रो हुनेछ’, बर्तौलाले भन्नुभयो । यस्तै सहकारीका अध्यक्ष डा. गणेश बल लामाले बहुउद्देश्यीय सहकारीको मर्म अनुसार दिव्यताराले विभिन्न क्षेत्रमा काम गर्दै आएको जानकारी दिनुभयो । दिव्यतारा मनहरीका संयोजक प्रकाश बर्तौलाले साधारण सदस्यहरुलाई सहकारीबाट लगेको ऋण समयमै चुक्ता गरिदिन अनुरोध गर्नुभयो । सहकारीको ऋणलाई ख्याल–ख्याल नसोच्न उहाँले अनुरोध गर्नुभयो ।

साधारणसभामा दिव्यतारा सहकारीका सचिव ईश्वर पण्डित, सहसचिव निलम बजगाईंको पनि उपस्थिति रहेको थियो । दिव्यतारा सहकारीको मनहरी सेवा केन्द्रमा पाँच सय ५७ जना शेयर सदस्य रहेका छन् । सहकारीको जिल्ला साधारणसभा कात्तिक १० गतेका लागि तोकिएको छ । चितवन र ललितपुरमा समेत सेवा केन्द्र रहेको सहकारीको मकवानपुरमा ९ वटा सदस्य सेवा केन्द्र रहेको छ । सहकारीले सामुदायिक रेडियो, उपभोक्ता सहकारी पसल, तोरीको तेल मिल लगायतका सेवा दिँदै आएको छ ।