हेटौँडाः ललितपुर महानगरपालिका–२५ सुगमटोलस्थित नख्खु खोलामा बग्दै गरेका दुई जनाको उद्दार गरेका काभ्रेका चणिकलाल तामाङलाई बागमती प्रदेश सरकारले डेढ लाख नगदसहित सम्मान गर्ने भएको छ । मुख्यमन्त्री बहादुरसिंह लामाले चणिकको सहासिक कामबाट दुई जनाको ज्यान जोगिएको भन्दै प्रदेश सरकारले सम्मान गर्न लागेको जानकारी दिनुभयो ।
काभ्रेको तेमाल गाउँपालिका–९ चोकटारका तामाङले गत शनिबार नख्खु खोलामा बग्दै गरेका रौतहटका राजु साहकी छोरी ६ वर्षीया मेघना साह र राजुका भाइ २२ वर्षीय राज साहको उद्दार गर्नुभएको थियो । तामाङलाई टेलिफोनमार्फत् साहासिक कामका लागि धन्याबाद दिएको बताउनुहुँदै मुख्यमन्त्री लामाले प्रदेश सरकारले नगदसहित सम्मान गर्न लागेको जानकारी तामाङलाई गराइएको जानकारी दिनुभयो ।
विपद् प्रतिकार्यमा तामाङले खेलेको भूमिकाले नागरिकस्तरमा समाजसेवी भावना जागृत गरेको बताउनुहुँदै मुख्यमन्त्री लामाले सामाजिक कामका लागि सम्मान गर्न लागिएको जानकारी दिनुभयो । तामाङको सहासिक कार्यले विपद् व्यवस्थापनमा आम नागरिकले कस्तो भूमिका खेल्न सक्छन् भन्ने उदाहरण र प्रेरणा मिलेको बताउनुहुँदै मुख्यमन्त्री लामाले आगामी दिनमा विपद् प्रतिकार्यका लागि तामाङ जस्ता युवालाई प्रदेश सरकारले साथमा लिने बताउनुभयो ।