हेटौँडाः हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथअन्तर्गत ललितपुर र मकवानपुरको सीमानामा रहेको बागमती नदिको पुलको उत्तरतर्फको बाटो बाढीले बगाएको छ । बाटोसँगै नजिकको होटल पनि बगाएको छ । बिहिबारदेखिको अविरल वर्षासँगै बागमती नदीमा आएको बाढीले पुलबाट उत्तर ललितपुर जिल्लातर्फको भाग बगाएको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिनुभयो ।
भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले भीमफेदी गाउँपालिकाको ८ नम्बर वडा अध्यक्ष विष्णु बहादुर भोलनले खिच्नुभएको भिडियो नै सामाजिक सञ्जालमा राख्नुभएको छ । शनिबार बिहान हेर्दा बाढीले पुलको उत्तरतर्फको बाटो र एउटा होटल समेत बनाएको वडा अध्यक्ष भोलनले जानकारी दिनुभयो । वर्षाका कारण पहिरोले कान्तिलोकपथमा उल्लेख्य संख्यामा पहिरो गएको उहाँले बताउनुभयो ।
कान्तिलोकपथअन्तर्गत मकवानपुरतर्फ ठिंगनस्थित ईलाका प्रहरी कार्यालयका प्रहरीले पनि कान्तिलोकपथमा पहिरोका कारण बागमती पुलसम्म जान सक्ने अवस्था नरहेको जनाएको छ । भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाकाअनुसार भीमफेदी गाउँपालिकाको इपास्थित माण्डु जलविद्युत आयोजनाको हेडवर्क र पावर हाउसमा क्षति पुगेको छ । भैंसे–भीमफेदी, भीमफेदी–कुलेखानी सडकखण्डमा पनि पहिरोले आवागमन प्रभावित बनेको छ ।