हेटौंडाः अखिल नेपाल फुटबल संघ (एन्फा) ले मकवानपुरको सिस्नेरीमा संचालन गरेको एकेडेमीका ६ विद्यार्थी बेपत्ता भएका छन् । शक्रबार एन्फा एकेडेमीका सुरक्षाकर्मीलाई छलेर भागेका ६ जना विद्यार्थीहरु बेपत्ता भएका हुन् ।
बिहीबारदेखि भएको वर्षाका कारण शुक्रबार कुलेखानीको ड्याम खोल्ने जानकारी पाएका उनीहरु बगाउने डरले सुरक्षाकर्मीलाई छलेर भागेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । स्थानीय वत्सला माध्यमिक विद्यालयमा एन्फाले होस्टलसहित आवासीय व्यवस्था गरी दैनिक प्रशिक्षणमा राखिएका ३७ जना खेलाडीमध्ये ६ जना सम्पर्कविहीन भएका हुन् ।
कार्यालयकी प्रमुख प्रहरी निरिक्षक ललिता ढकालका अनुुसार एकेडेमीका खेलाडी कुलेखानीको बाढीबाट बच्न भन्दै सुरक्षाकर्मीलाई छलेर सुरक्षित स्थानतर्फ जाँदा बेपत्ता भएका हुन् । उहाँको अनुसार बाढीमा परिने डरमा भागेका उनीहरु सहज बाटो जाने क्रममा सिस्नेरी टेकरमा खसेको पहिरोमा परेका प्रारम्भिक जानकारी प्राप्त भएको छ । बेपत्ता भएका उनीहरुको खोजी कार्यका लागि प्रहरी परिचालन गरिएको उहाँको भनाई छ । कुलेखानी सिस्नेरी सडकको विभिन्न स्थानमा पहिरो खसेकाले घटना स्थलसम्म पुग्न समस्या भएको उहाँले बताउनुभयो ।
एन्फा केन्द्रीय सदस्य टिकाराम लामाका अनुसार बेपत्ता हुने विद्यार्थीहरुमा मकवानपुरका अनुप घलान, सुमन योन्जन र दिवस बानियाँ रहेका छन् । यस्तै सर्लाहीका आदित्य वलम्पाकी, काठमाडौंका रियान्स आचार्य र बाराको निजगढका विकल रेग्मी रहेका छन् । एन्फाले सिस्नेरीमा गतवर्ष पहिलो पटक एकेडेमी संचालन गरेको थियो ।