हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ लाई निकृष्ट बालश्रममुक्त, बालविवाहमुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्नुभएको हो ।
‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ हेटौंडा–९ लाई सातौं वडाको रुपमा बालमैत्री शासनयुक्त वडा घोषणा गरिएको हो । नगर प्रमुख लामाले घोषणापछिको दिगोपनाको शुभकामना दिनुभयो । उहाँले बालबालिकालाई राज्यको प्रक्रियाहरुमा समावेश गराउने प्रतिबद्धता गर्नुभयो । उहाँले बालश्रम र बालविवाहजस्ता कुरितिहरु अन्त्य गर्न र बालबालिकाको समग्र विकासमा टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
हेटौंडा–९ का वडाध्यक्ष सुकराम केसीले वडाले बालमैत्री घोषणाका लागि आवश्यक ५१ वटा सूचकहरुमध्ये ४७ वटा सूचकहरु शत प्रतिशत पूरा गरेको जानकारी दिनुभयो । बाँकी चार सूचक क्रमशः ९७ प्रतिशत, ९६ प्रतिशत, ९० प्रतिशत र ८१ प्रतिशत नतिजा हासिल गरेको उहाँले बताउनुभयो । शत प्रतिशत प्रगति नभएका बाँकी सूचकलाई चाँडै पूर्णता दिने र दिगोपनामा वडाले ध्यान दिने उहाँले बताउनुभयो । उहाँका अनुसार वडामा १८ वर्ष मुनिका २ हजार ७ सय ७ जना बालबालिका रहेका छन् ।
यसअघि हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर २, ४, ७, ८, १० र १७ नम्बर वडा बालमैत्री घोषणा भइसकेका छन् । कार्यक्रममा ९ नम्बर वडाभित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले विज्ञान प्रदर्शनी गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरकी सदस्य सुनिता दर्नाल र हेटौंडा उपमहानगरपालिका उपप्रमुख राजेश बानियाँलगायत टोल विकास संंस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।