सांकेतिक तस्वीर ।

हेटौँडाः बागमती प्रदेशमा बाढी पहिरोमा परेर ६ जनाको मृत्यु भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार पछिल्लो २४ घण्टामा बाढी पहिरोका कारण ६ जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार पहिरोका कारण प्रदेशमा ५ जना र बाढीबाट एक जनाको मृत्यु भएको छ । बिहिबारदेखि भएको वर्षाका कारण खसेको पहिरो र बाढीका कारण प्रदेशको काभ्रे, सिन्धुली र सिन्धुपाल्चोकमा मानविय क्षती भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायव उपरिक्षक जितेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार सिन्धुलीमा खोला तर्ने क्रममा बगाउँ एक जनाको मृत्यु भएको छ भने काभ्रेमा पहिरोले ३ जना र सिन्धुपाल्चोकमा २ जनाको मृत्यु भएको हो । बाढी पहिरोबाट काभ्रेमा १० जना बेपत्ता भएका छन् भने धादिङमा ३ र मकवानपुरमा एक जना गरी १४ जना बेपत्ता भएको उहाँले बताउनुभयो ।

बाढी पहिरोका कारण प्रदेशमा १८ वटा भौतिक संरचनामा पूर्ण क्षती पुगेको भने एउटा आंशिक क्षति भएको उहाँले बताउनुभयो । बाढी पहिरोले मकवानपुरमा एक र काभ्रेमा १७ वटा भौतिक संरचना पूर्ण र रसुवाको एक घर आंशिक क्षति पुगेको उहाँको भनाई छ । प्रदेशमा बाढी पहिरोले एक बस र एक मोटरसाईकलमा क्षती भएको उहाँले बताउनुभयो ।

प्रदेशमा बाढी पहिरोको जोखिममा रहेका ४ स्थानान्तरण गरिएको छ भने १०७ परिवारलाई स्थानान्तरण गरिएको छ । बाढी पहिरोको जोखिममा रहेका चितवनका ३ घरका १०० परिवार र दोलखाका एक घरका ७ परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उहाँले बताउनुभयो । प्रदेशमा काभ्रेका ४ र दोलखाका एक गरी ५ घर बाढी पहिरोको उच्च जोखिममा रहेको प्रहरी नायव उपरिक्षक बस्नेतले बताउनुभयो ।