हेटौंडाः मकवानपुरका मुक्तककार डीबी बर्तौलाको तेस्रो मुक्तक संग्रह ‘उज्यालोका बाछिटा’को शनिबार विमोचन गरिने भएको छ । हेटौंडा–४ स्थित हेटौंडा पार्टी प्यालेसमा आयोजना हुने साहित्य संगम मकवानपुरको ३४७ औँ नियमित साहित्य सन्ध्यामा बर्तौलाको मुक्तक संग्रह विमोचन हुने भएको हो ।

मुक्तक संग्रहमा उहाँले समाजको विकृति, विसंगतिमाथि व्यङ्ग्य गर्नुभएको छ । तेस्रो मुक्तक संग्रहमा ९२ ओटा मुक्तक रहेका छन् । पुस्तक इन्डीको पब्लिकेशनले प्रकाशन गरेको छ ।

बर्तौलाले यसवर्ष नयाँ ढङ्गबाट पुस्तकको समीक्षा गर्न लाग्नुभएको जानकारी दिनुभयो । उहाँको पुस्तकको विमर्श तथा मुक्तक वाचन उहाँका आफ्नै गुरु बासुदेव प्याकुरेल र विद्यार्थी आयुष्मा भण्डारीले गर्नु हुनेछ । उहाँको प्रत्येक मुक्तकमा नयाँ उखान रहेको छ ।

बर्तौलाको २०७५ सालमा पहिलो मुक्तक संग्रह ‘आगतको आँगनी’ र २०७८ सालमा दोस्रो मुक्तक संग्रह ‘पसिनाको आभा’ प्रकाशन भइसकेको छ । २०४४ सालमा जन्मनुभएका बर्ताैला नेपाली साहित्यिक लेखनमा क्रियाशील युवा सर्जक हुनुहुन्छ । उहाँ हेटौंडा–९ मा बसोबास गर्दै आइरहनु भएको छ ।

डेढ दशकदेखि साहित्य क्षेत्रमा क्रियाशील रहनुभएका बर्तौला गजल, मुक्तक, हाइकु, कविता, गीत, निबन्ध, समीक्षालगायत लेखनमा सक्रिय हुनुहुन्छ । बर्तौला साहित्य संगम मकवानपुरको ३ वर्ष सचिव पदमा बसेर हाल अध्यक्षको रुपमा रहनुभएको छ भने मुक्तक मञ्च मकवानपुरको संस्थापक अध्यक्ष हुनुहुन्छ ।

कार्यक्रममा १७ औँ पुस्तकालय दिवसको अवसरमा साहित्य संगम मकवानपुर र पुष्पलाल स्मृति पुस्तकालयको आयोजनामा भएको चिठ्ठी लेखन प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई पुरस्कृतसमेत गरिनेछ । प्रतियोगितामा मकवानपुर जिल्लाका १३ वटा विद्यालयका ८ कक्षादेखि १० कक्षासम्म अध्ययनरत २५ जना विद्यार्थीको सहभागिता रहेको थियो । प्रतियोगितामा आफूले पढेको पुस्तकको समीक्षा गर्दै मिल्ने साथीलाई चिठ्ठी लेख्न लगाइएको थियो ।