लागूऔषध नियन्त्रणमा नेपाल प्रहरीको सक्रियता महत्वपूर्ण छ । प्रहरीले लागूऔषधको उत्पादन, कारोबार र प्रयोग तीनै तहमा नियन्त्रणको प्रमुख जिम्मेवारी पाएको छ । प्रहरीको सक्रियताकै कारण भीमफेदी कारागारका करिब एक हजार कैदीबन्दी मध्ये झण्डै आधा कैदीबन्दी लागूऔषधकै मुद्दाका छन् । प्रहरीको सक्रियता जत्ति महत्वपूर्ण छ प्रहरी संगठनबाट हुन सक्ने कमिकमजोरी पनि उत्तिकै संवेदनशील छन् । प्रहरी संगठनभित्र हुने कमजोरीलाई केलाउने र निगरानी गर्ने संगठन प्रहरीकै माथिल्लो निकाय हो । केही दिन अघि मात्रै बागमती प्रदेश प्रहरी कार्यालयले ईलाका प्रहरी कार्यालय भीमफेदीका इन्चार्जलाई ठेकेदारसँग घुस रकम लिँदै गर्दा रंगेहात पक्राउ गर्यो । ईलाकाको नेतृत्वको जिम्मेवारी पाएकै प्रहरी अधिकृत आफैं असुलीमा संलग्न हुनुले प्रहरी संगठनमाथिको विश्वसनीयतामाथि प्रश्न चिन्ह खडा भएको छ ।
प्रहरी संगठनको नेतृत्व र प्रहरी संगठनका विभिन्न तहमा संलग्न रहनेहरुमाथि आशंकाका प्रसस्त अवसर देखिने गरेको छ । आइतबार मात्रै पनि मकवानपुर प्रहरीले लागूऔषध अफिम बरामद गरेको ११ दिनपछि सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले पूर्वपश्चिम राजमार्गमा सुरक्षाजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार दुईजना फरार भएको र लागूऔषध अफिम ५ केजी बरामद गरेको जनाएको छ । प्रहरीले बरामद गरेको वस्तु लागूऔषध हो कि होइन भनी छुट्याउनै ११ दिन लागेको प्रहरीको भनाइ छ । यसअघि जिल्ला प्रहरी कार्यालयले अफिम बरामद गरे लगत्तै सार्वजनिक गर्ने गरिएको थियो भने अहिले किन यत्ति समय लाग्यो भन्ने प्रश्न जायज हुनेछ ।
प्रहरी कार्यालयमा नेतृत्व पाएसँगै हुने प्रहरी अधिकृतको क्रियाशीलता र क्रमशः नेतृत्वको शिथिलता पनि आशंकापूर्ण रहने गर्दछ । मकवानपुर जिल्लाभित्रकै ईलाका प्रहरी कार्यालयका नेतृत्व पाएसँगै प्रहरी निरीक्षकहरुले देखाउने क्रियाशीलता र क्रमशः कमजोर हुने गरेको छ । अहिले ईलाका प्रहरी कार्यालय पशुपति नगरमा देवराज काफ्ले नेतृत्व पाएसँगै निक्कै सक्रियता देखिएको छ । यद्यपि सुरुवातमै उहाँले घटनाको विवरण पूर्ण रुपमा सार्वजनिक गरिरहनुभएको छैन । सार्वजनिक विषयमा प्रहरीले गरेको क्रियाकलापको विवरण लुकाइनु उत्तिकै आपत्तिजनक छन् ।
लागूऔषधकै सन्दर्भमा पनि हरेक वर्ष मकवानपुर प्रहरीले जिल्लाको राक्सिराङ, कैलाश गाउँपालिका पुगेर लागूऔषध गाँजा, अफिमको खेती नष्ट गरेको बताउँदै आएको छ । तर, प्रहरीले जत्ति फँडानी गरे पनि मकवानपुरमा लागूऔषधको व्यावसायिक खेती, कारोबार र प्रयोग कम हुन सकेको छैन । प्रहरीले कारोबारी भनेर सार्वजनिक गरेका लागूऔषध कारोबारी अदालतमा पुगेपछि सहजै रिहा भएका घटनाले पनि प्रहरी संगठनले पाएको जिम्मेवारी निर्वाहको क्रममा कमजोरी भइरहेको छ कि भनेर प्रश्न गर्नुपर्ने बेला भएको छ । प्रहरी संगठनको संवेदनशीलतालाई संगठनभित्रैबाट बुझ्ने र त्यसको गरिमा बढाउनु जत्तिको उपयुक्त उपाय अरु छैन । यद्यपि माथिल्लो तहले तल्लो तहलाई निगरानी गर्ने र कमिकमजोरी सुधार्नु अनिवार्य छ । सँगसँगै नागरिक समाज र हरेक नागरिकले प्रहरी संगठनको कामको निगरानी सघन रुपमा गर्नु जरुरी छ । जसले प्रहरी संगठनको गरिमा बढाउने र नागरिककै सुरक्षामा सकारात्मक लाभको अवसर हुने