हेटौंडाः मकवानपुर जिल्ला फुटबल संघको आयाजनामा जारी मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगितामा दुई टिम सेमिफाइनल प्रवेश गरेको छ । सोमबार भएको क्वार्टरफाइनल खेलमा विजयी हुँदै एफसी पोताला र पदमपोखरी युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।
हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको पहिलो क्वार्टरफाइनल खेलमा न्यू कम्बाइन क्लबलाई २–१ गोलले हराउँदै एफसी पोताला सेमिफाइनलमा प्रवेश गरेको छ । यस्तै, सक्षम युवा क्लबलाई टाइब्रेकरमा हराउँदै पदमपोखरी युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा गोलरहित बराबरीमा रोकिएपछि नतिजाका लागि टाइब्रेकरको सहारा लिनु परेको थियो ।
पोतालाको जीतमा ऋषि मोक्तान र अनुप राना मगरले समान एक–एक गोल गरेका हुन् । मोक्तानले १७ औं मिनेटमा र मगरले ३९ औं मिनेटमा गोल गरेका हुन् । खेलको म्यान अफ द म्याच एफसी पोतालाका मोक्तान घोषित भएका छन् ।
एफसी पोतालाले समूह ‘क’बाट ६ खेलमा ४ जीत, एक बराबरी र एक हार व्यर्होर्दै तालिकाको शीर्ष स्थानमा रहँदै क्वार्टरफाइनलमा प्रवेश गरेको थियो । न्यू कम्बाइन ६ खेलमा ४ जीत, एक बराबरी र एक हार व्यर्होर्दै १३ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेर क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
समूह ‘ग’बाट ६ खेलमा ४ जीत र २ खेल बराबरी खेलेर १४ अंकसहित तालिकाको शीर्ष स्थानमा रहँदै पदमपोखरी क्वार्टरफाइनलमा प्रवेश गरेको थियो । ६ खेलमा ४ जीत, एक बराबरी र एक हार व्यर्होनुपरेको सक्षम युवा क्लब १३ अंकसहित तालिकाको दोस्रो स्थानमा रहँदै क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।