मैत्रीपूर्ण खेलपछि खिचिएको सामूहिक तस्वीर ।

हेटौंडाः स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) हेटौंडा क्याम्पसले आयोजना गरेको मैत्रीपूर्ण क्रिकेट खेलमा हेटौंडा क्याम्पस विजयी भएको छ । हेटौँडा क्याम्पसले भुटनदेवी माध्यमिक विद्यालयलाई २ विकेटले पराजित गरेको हो ।

१५ ओभरको खेलमा टस जितेर हेटौँडा क्याम्पसले फिल्डिङ रोजेको थियो । टस हारेर व्याटिङको निम्तो पाएको भुटनदेवी माध्यमिक विद्यालयको टिमले निर्धारित १५ ओभरमा ७ विकेटको क्षतिमा १ सय ११ रन जोडेको थियो । १ सय १२ रनको लक्ष्यसहित मैदानमा उत्रिएको हेटौँडा क्याम्पसले १५ औं ओभरमा लक्ष्य भेट्टायो । खेलमा हेटौँडा क्याम्पसका जितेन्द्र साहले उत्कृष्ट ब्याट्सम्यानको उपाधि प्राप्त गर्नुभयो । भुटनदेवी माध्यमिक विद्यालयका इशान्त मिश्र उत्कृष्ट बलर घोषित हुनुभयो ।

भुटनदेवी माध्यमिक विद्यालयका कप्तान बिट्टुकुमार पाल उत्कृष्ट फिल्डर घोषित हुनुभयो । हेटौंडा क्याम्पसको अतिरिक्त क्रियाकलाप तथा सामाजिक सेवा समिति र मकवानपुरगढी गाउँपालिकाको क्रिकेट क्लबको समन्वयमा खेल भएको थियो । स्ववियु हेटौंडा क्याम्पस अध्यक्ष अभि मैनालीले खेलकुदले विद्यार्थीहरूको शारीरिक, मानसिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान गर्ने बताउँदै, खेलकुद गतिविधिमा सहभागी हुँदा युवाहरूले लागूपदार्थ दुव्र्यसनजस्ता गलत गतिविधिहरूबाट टाढा रहन सक्ने धारणा व्यक्त गर्नुभयो । स्ववियुले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुदका माध्यमबाट उनीहरुलाई सकारात्मक मार्गमा अघि बढाउन निरन्तर प्रयास गर्दै आएको मैनालीको भनाइ छ ।

हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा हेटौंडा क्याम्पसका प्रमुख देवीराम लामा, भुटनदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक माधव दाहाल, जिल्ला युवा समिति अध्यक्ष शिवहरि दाहाल, विद्यार्थी नेता आकाश अधिकारी, शिक्षकहरू मनोज पोखरेल, दीपेन्द्र ढकाल, पुरुषोत्तम आचार्य, प्रकाश सुवेदी, मुकेश मिश्र, प्रितम मोक्तान, विजय मस्राङ्गीलगायतको उपस्थिति थियो ।