हेटौंडाः हेटौँडा–१, गोरक्षेश्वर मन्दिरस्थित पुर्व–पश्चिम सडकखण्डमा ग्याँस बुलेटको ठक्करबाट घाइते भएका पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुरको सुडाल घर भई हाल हेटौंडा–११ स्थित थानाभर्याङ बस्ने ६० वर्षीय रमेश पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।
शुक्रबार साँझ ७ बजेर ४५ मिनेटको समयमा उक्त सडकखण्डमा हेटौंडाबाट थानाभर्याङतर्फ जाँदै गरेको साईकललाई ग्याँस बुलेटले ठक्कर दिँदा पाण्डे गम्भीर घाइते भएका थिए । घाइते पाण्डेलाई उपचारको लागि हेटौंडा अस्पतालमा लगिएकोमा राति ८ बजे डाक्टरले मृत घोषणा गरेका हुन् ।
घटना हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी टोली खटिएर एनएल ०१ एल ९०२६ नम्बरको ग्याँस बुलेट र चालकलाई नियन्त्रणमा लिएको थियो । घटनाबारे अनुसन्धान जारी रहेकोे प्रहरीले जनाएको छ ।