स्मृति सार्वजनिक पश्चात सामुहिक तस्वीर खिचाउँदै ।

हेटौंडाः मकवानपुरे वरिष्ठ पत्रकार, साहित्यकार, शिक्षक कौशल पाण्डेको स्मृतिमा प्रकाशित कृति सार्वजनिक गरिएको छ । श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान मकवानपुरको संस्थापक अध्यक्षसमेत रहनुभएका कौशल पाण्डेको स्मृतिमा प्रकाशित ग्रन्थ ’स्मृतिका पानाहरू’ असोज ३ गते बिहीबार हेटांैडामा सार्वजनिक भएको हो ।

प्रगतिवादी अध्येता एवम् साहित्यकार डीआर पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बागमती प्रदेश निवर्तमान खानेपानी, ऊर्जा तथा सिचाई मन्त्री श्यामबहादुर खड्का, बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी छिन्तु, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको विशिष्ट आतिथ्य रहेको थियो ।

कार्यक्रममा भीमसेन महत, सीता बिष्ट, प्रमिला पुलामी, राधा तिमल्सिना, सूर्यचन्द्र न्यौपाने, नवीन सिग्देल, फुर्वा दोर्जे लामा, कृष्णप्रसाद घिमिरे, पुरणबहादुर जोशी, ध्रुव अधिकारी, निमेश निखिल, ह्यग्रीव आचार्य, समीम शाह, रामसागर गुरागाई, सञ्जय साह, किसुन दयाल यादवलगायत राजनैतिक, साहित्यिक, पत्रकारिता र शिक्षण क्षेत्रका व्यक्तित्वहरु उपस्थित थियो ।

प्रकाशित पुस्तकबारे समीक्षकहरू राजबाबु पहाडी र सूर्यप्रसाद शर्माले धारणा राख्नुभएको थियो । पुस्तकबारे बोल्दै समीक्षकहरूले कौशल पाण्डे नेपाली पत्रकारिता, साहित्य, शिक्षण र राजनीतिक क्षेत्रमा बिर्सिन नसकिने नामको रुपमा रहनुभएको कृतिबाट जानकारी हुने मत राख्नुभएको थियो ।

। ग्रन्थ प्रकाशन समितिका संयोजक ऋषिराम पोखरेलले स्वागत गर्नुभएको उक्त कार्यक्रम श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानका अध्यक्ष इन्द्र नेपालको सभाध्यक्षतामा भएको थियो । साथै कार्यक्रमको सहजीकरण प्रतिष्ठानका सचिव सुवास खनालले गर्नुभएको थियो ।

कार्यक्रममा कवि पुरुषोत्तम आचार्य र कौशल पाण्डेकी कान्छी बहिनी शान्तिदेवी ढुङ्गानाले रचनावाचन गर्नुभएको थियो भने प्रतिष्ठानले ’कौशल पाण्डे स्मृति पुरस्कार’ स्थापना गरी कार्ययोजना बनाएर वार्षिकरुपमा प्रदान गर्ने जानकारी गराएको थियो ।