फाइल तस्वीर ।

हेटौंडाः हेटौंडामा जारी मकवानपुर जिल्लास्तरीय भेट्रान्स भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । शुक्रबार क्वार्टरफाइनल चरणको अन्तिम ४ खेलहरु सम्पन्न भएसँगै जिल्लास्तरीय भेट्रान्स भलिबलको सेमिफाइनल समीकरण पूरा भएको हो ।

हेटौंडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा भएको पहिलो खेलमा राक्सिराङ गाउँपालिका भेट्रान्सलाई २–० को सोझो सेटले हराउँदै मकवानपुरगढी भेट्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ । राक्सिरालाई २५–२१ र २५–२२ ले हराउँदै मकवानपुरगढी भेट्रान्स सेमिफाइनलमा प्रवेश गरेको हो ।

दोस्रो खेलमा बकैया गाउँपालिका भेट्रान्सलाई २–० को सोझो सेटले हराउँदै नारायणी कलेज सेमिफाइनलमा प्रवेश गरेको छ । बकैयालाई २५–१० र २५–८ ले हराउँदै नारायणी कलेजको भेट्रान्स टिम सेमिफाइनलमा प्रवेश गरेको हो ।

तेस्रो खेलमा थाहा नगरपालिका भेट्रान्सलाई २–१ को सेटले हराउँदै भीमफेदी गाउँपालिका भेट्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो सेटमा २५–२३ ले थाहा नगरलाई पराजित गरेको भीमफेदी दोस्रो सेटमा २२–२५ ले थाहा नगरसँग पराजित हुनुपरेको थियो । तर तेस्रो सेटमा भने सेमिफाइनलमा प्रवेश गर्ने होडमा थाहा नगरलाई १५–७ ले हराएको हो ।

यस्तै, चौथो तथा अन्तिम खेलमा आयोजक छहारी सेवा समाजलाई २–० को सोझो सेटले हराउँदै हेटौंडा–१९ सेमिफाइनलमा प्रवेश गरेको छ । हेटौंडा–१९ ले छहारीलाई दुबै सेटमा २५–२३ ले पराजित गरेको हो । खेलको प्लेयर अफ द डे भीमफेदीका रञ्जन अमात्य घोषित भएका छन् । उनलाई नारायणी कलेजका प्राचार्य रघुनाथ खरालले ट्रफ्री हस्तान्तरण गर्नुभएको हो ।

प्रतियोगिताअन्तर्गत शनिबार सेमिफाइन र फाइनल चरणको खेल हुने रेफ्री संयोजक मनोज लामाले बताउनुभएको छ । पहिलो सेमिफाइनल खेलमा मकवानपुरगढी र नारायणी कलेजबीच प्रतिस्पर्धा हुने संयोजक लामाले बताउनुभयो ।

केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको आयोजना, छहारी सेवा समाजको सहआयोजना तथा नारायणी कलेजको मुख्य प्रायोजनमा सञ्चालन भएको प्रतियोगितामा ११ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधि विजेताले ३० हजार रुपैयाँ र उपविजेताले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।