हेटौँडाः हेटौँडामा आउँदो शनिबार हेटौँडा सम्पदा यात्रा २०८१ हुने भएको छ । हेटौँडा एडभेन्चर क्लबको आयोजनामा सम्पदा यात्रा हुने भएको हो । बिहिबार आयोजकले पत्रकार सम्मेलन गरेर कार्यक्रम बारे जानकारी गराएको छ ।
हेटौँडा उपमहानगरपालिका र मकवानपुरगढी गाउँपालिकामा रहेका धार्मिकस्थलहरुको प्रचार–प्रसार गर्ने उद्देश्यले हेटौँडा एडभेन्चर क्लबले पहिलो पटक सम्पदा यात्राको आयोजना गर्न लागेको अध्यक्ष सुशील सुवेदीले जानकारी दिनुभएको छ । सम्पदा यात्राले हेटौँडामा भएको पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धन भई पर्यटकहरुको आकर्षण बढ्ने अध्यक्ष सुवेदीले बताउनुभयो । कार्यक्रममा सहभागी हुनका लागि दर्ता शुल्क तीन सय रुपैयाँ तोकिएको छ । कार्यक्रममा ६५ वटा मोटरसाइकल र १ सय ३० जना व्यक्तिहरुको सहभागिता रहने अनुमान रहेको उहाँले बताउनुभयो ।
मकवानपुरसहित बारा, पर्सा तथा चितवन जिल्लाका यात्रीहरुको सहभागिता रहने उहाँले बताउनुभयो । हेटौँडा–४ पशुपति मन्दिर परिसरबाट सुरु हुने यात्रा पाथिभरा, स्मारक, पूण्यक्षेत्र, वृन्दावन कुष्माण्ड सरोवर, वनविज्ञान क्याम्पस, कर्रा गुम्बा, चुरियामाई मन्दिर, जुरेथुम, गुम्बाडाँडा, राजदेवी गुफा, सालक पार्क, मकवानपुरगढी, वंशगोपाल, चौघडा, मनकामना, वनस्खण्डी, दक्षिणकाली, रुद्रेश्वर, मनमोहन पार्क, कमाने हुँदै वनदेवी मन्दिरबाट हेटौँडा–७ न्यूरेनीमा समापन गरी झण्डै १ सय २० किलोमिटरको यात्रा तय गरिने बताइएको छ । कार्यक्रमका लागि करिब ३ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।