हेटौंडाः बागमती प्रदेश सरकारले पेरिस पारा ओलम्पिकमा पदक दिलाएकी पलेशा गोवर्द्धनलाई १० लाख रुपैयाँसहित सम्मानित गरेको छ । बिहिवार मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा संविधान दिवसको अवसरमा आयोजित एक समारोहमा पलेशालाई नगद पुरस्कार प्रदान गरिएको हो ।
प्रदेश सरकारले पलेशालाई हेटौंडामा बजार परिक्रमा सहित कांस्य पदक विजेता पलेशालाई सम्मानित गरिएको हो । पलेशाका प्रशिक्षक कविराज नेगीलाई २ लाख र नेपाल तेक्वान्दो संघ बागमती प्रदेश समितिलाई १ लाख रुपैयाँ प्रदान गरिएको थियो ।
त्यस्तै १९ औं एसियाली खेलकुदमा करातेमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी एरिका गुरुङलाई ५ लाखसहित सम्मानित गरेको हो । एरिकाले एसियाडमा महिला ६८ केजी तौल समूहमा ऐतिहासिक रजत जितेकी थिइन् । प्रदेश सरकारले एरिकाको प्रशिक्षक कुशल श्रेष्ठलाई १ लाख र नेपाल कराते महासंघ बागमती प्रदेश समितिलाई १ लाख रुपैयाँ प्रदान गरेको हो ।
उनीहरुलाई वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा, खेलकुद मन्त्री मिनकृस्ण महर्जनले सम्मान पत्र एवम् नगद हस्तान्तरण गरेका थिए । एरिका र कुशलसहित नेपाली कराते टोली अहिले एसियाली च्याम्पियनसिप खेल्न चीन पुगेका छन् ।