हेटौँडाः शिक्षक सेवा आयोगले गत शनिबार सञ्चालन गरेको प्राथमिक तहको दोस्रो चरणको परीक्षाअन्तर्गत हेटौँडास्थित परीक्षा केन्द्रमा एक सय ७९ जना परीक्षार्थी अनुपस्थित भएका छन् । शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरकी प्राविधिक सहायक सरला अधिकारीका अनुसार दोस्रो चरणको परीक्षामा तीन हजार नौ सय ६५ जना परीक्षार्थी सहभागी भएका थिए ।
आयोगले गत असार २२ गते लिएको पहिलो चरणको परीक्षामा चार हजार एक सय ४४ जना उत्तीर्ण भएका थिए । दोस्रो चरणको परीक्षाको नतीजा प्रकाशन भएपछि अन्तरवार्ता लिएर योग्य उम्मेदवारलाई शिक्षकको रुपमा छनोट गर्नेछ ।
हेटौँडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पस र सिद्धार्थ माध्यमिक विद्यालय, हेटौँडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय, भुटनदेवी माध्यमिक विद्यालय र हेटौँडा क्याम्पस, हेटौँडा–५ स्थित बालज्योति माध्यमिक विद्यालय र हेटौँडा–११ स्थित त्रिभुवन माध्यमिक विद्यालयमा परीक्षा केन्द्र निर्धारण गरिएको थियो ।