कर्मचारी सञ्चय कोषको वार्षिकोत्सवको तस्वीर ।

हेटौंडाः कर्मचारी सञ्चय कोषको ६३ औं वार्षिकोत्सवको अवसरमा कोषको हेटौँडा शाखाले एक समारोहका बीच वार्षिकोत्सव मनाएको छ । सोमबार शाखाका कार्यालय प्रमुख दिलिप पौडेलको सभाध्यक्ष तथा बागमती प्रदेशका मुख्यमन्त्री कार्यालयका निमित्त प्रमुख सचिव कृष्णकुमार कार्कीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्नुहुँदै शाखाका प्रमुख पौडेलले राष्ट्रका लागि आफ्नो उर्जावान समय व्यतित गर्दै राष्ट्र सेवामा योगदानरत कर्मचारीहरुको अवकाशपछि उनीहरुको जीवनलाई आर्थिकरुपले सवलीकरण गर्ने काम कोषले गरिरहेको बताउनुभयो । उहाँका अनुसार कोषले निजामती, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विशेष सेवातर्फका राष्ट्रसेवक कर्मचारीहरुका साथै शिक्षक, सार्वजनिक संस्थान तथा निजी प्रतिष्ठानका कर्मचारीहरुसमेत गरी ५ लाख ७५ हजारभन्दा बढी नियमित सञ्चयकर्ताको करिब ५ खर्ब १८ अर्ब ४८ करोड रुपैयाँको सञ्चय कोष रकम व्यवस्थापन गरिरहेको छ ।

उहाँले २०७६ साउनदेखि नयाँ नियुक्त भएका नेपाल सरकारको निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल विशेष सेवाका करिब ८० हजार ४ सय योगदानकर्ता कर्मचारीहरुको करिब ११ अर्ब २१ करोड निवृत्तभरण कोषको व्यवस्थापन गरिरहेको बताउनुभयो । सञ्चय कोष र निवृत्तभरण कोषको समेत गरी कुल स्रोततर्फ करिब ५ खर्ब ७१ अर्ब ३३ करोड रहेको छ ।

मकवानपुरसहित बारा, पर्सा र चितवन जिल्ला कार्यक्षेत्र रहेको हेटौंडा शाखाले आर्थिक वर्ष २०८०/८१ मा घर सापटी, घर मर्मत, जग्गा खरिद र सरल सापटीतर्फ २ हजार ८ सय ६१ सञ्चयकर्तालाई २ अर्ब ५९ करोड २८ लाख रुपैयाँ लगानी गरेको छ । यस्तै, सामाजिक सुरक्षण कार्यक्रमअन्तर्गत काजकिरिया अनुदान, दुर्र्घटना क्षतिपूर्ति, औषधी उपचार, सुत्केरी तथा शिशु हेरविचार सुविधाअन्तर्गत १ हजार ६ सय ७८ जनालाई १ करोड ५१ लाख रुपैयाँ प्रदान गरेको छ ।

कोषले स्वरोजगारमा संलग्न व्यक्तिहरुको सञ्चयकोष योगदानको व्यवस्थापन गर्ने र विभिन्न प्रकारका योगदानमा आधारित सामाजिक सुरक्षा योजनाहरुको कार्यान्वयनबाट संकलित दीर्घकालीन वित्तीय स्रोत एवम् अन्य सम्पत्तिलाई आयआर्जनका क्षेत्रमा लगानी गर्ने काम गरिरहेको उहाँले बताउनुभयो । उहाँले प्रदेशका कर्मचारी, स्थानीय तहका कर्मचारी र शिक्षकहरुको समेत योगदानमा आधारित निवृत्तिभरण प्रणालीमा जानुपर्ने आवश्यकता टड्कारो रुपमा देखिएको बताउनुभयो । यसलाई समयमै सम्बोधन गर्न नसकिए दीर्घकालमा सरकारको वित्तीय दायित्व बढ्दै जाँदा कर्मचारीको निवृत्तिभरण सुविधा नै जोखिममा पर्नसक्ने सम्भावना रहने उहाँले बताउनुभयो । कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल, बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख कृष्णहरि शर्मा र जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सीताराम रिजाललगायतको आतिथ्य रहेको थियो ।