हेटौंडाः बागमती प्रदेशको पूर्वाधार विकाससम्बन्धी एक सय ७६ आयोजनाहरु कार्यान्वयनमा आउन सकेको छैन । गत आर्थिक वर्ष २०८०/०८१ मा प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत् कार्यान्वयन गरिएको एक सय ७६ आयोजना अघि बढ्न नसकेको हो ।
मन्त्रालयको वार्षिक स्वीकृत बजेटमा समावेश भएको उक्त कार्यक्रम छनोटमा त्रुटि हुँदा कार्यान्वयनमा समस्या भएको हो । मन्त्रालयका अनुसार पूर्वतयारीबिना बजेट कार्यक्रम समावेश हुँदा योजना कार्यान्वयन हुन नसकेको हो ।
बजेटमा समावेश गरिएको सो एक सय ७६ आयोजनाको विस्तृत परियोजना प्रतिवेदन निर्माण नहुँदा कार्यान्वयन हुन नसकेको मन्त्रालयका सचिव अमृत श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रम छनौट भई बजेट विनियोजन भए पनि विविध विवाद र स्थानीय तहको चासो कम हुँदा ती आयोजनाहरु कार्यान्वयन नभएको हो ।
कार्यान्वयन नभएका आयोजनाहरुमा प्रदेश सरकारको बजेट विनियोजन भएका सडक पूर्वाधार निर्माणका ६६ वटा रहेका छन् भने ५६ वटा सडक पुल निर्माण, ६ वटा झोलुंगे पुल निर्माण, ३२ वटा भवन निर्माण, ५ वटा अन्य सार्वजनिक निर्माणका रहेका छन् । संघीय सशर्त अनुदानअन्तर्गतको सडक निर्माणका ५ र सडक पुल निर्माणका ६ वटा आयोजना रहेका छन् ।
१८८ अधुरा योजना
प्रदेश सरकारले गत आर्थिक वर्षमा कार्यान्वयन गरेको एक सय ८८ वटा योजनाहरु अधुरा रहेका छन् । बहुवर्षीयबाहेक एक सय ८८ योजनाहरु कार्यान्वयनको चरणमा गए पनि पूर्णता भने पाउन सकेनन् ।
मन्त्रालयको तथ्यांकअनुसार प्रदेश सरकारले सञ्चालन गरेको सडक निर्माणका एक सय २ योजनाले पूर्णता पाउन सकेनन् भने सडक पुल निर्माणका ६२, झोलुंगे पुल निर्माणका ५, भवन निर्माणका १५ वटा योजनाहरु रहेका छन् । संघीय सशर्ततर्फ कार्यान्वयन गरिएको सडक पुल निर्माणका ३ वटा योजना, विशेष अनुदानतर्फको भवन निर्माणका एउटा योजनाले पूर्णता पाउन सकेन ।
त्यस्तै, प्रदेश सरकारले बजेट कार्यान्वयनबाट २ हजार बढी सडक पुल तथा भवनहरु निर्माण भएका छन् । मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा बजेट कार्यक्रममा स्वीकृत २ हजार ७ सय १७ आयोजनामध्ये २ हजार एक सय ८१ योजनाहरु सम्पन्न भएका हुन् ।
मन्त्रालयले प्रदेशको बजेटबाट सडक निर्माणका २ हजार एक सय ७ योजनामध्ये १ हजार ८ सय ६७ योजना सम्पन्न भएको छ भने सडक पुलतर्फ २ सय ४ मध्ये ३७ योजना सम्पन्न भएको छ । झोलुंगे पुल निर्माणतर्फ ३१ वटा आयोजना रहेकोमा १२ वटा, भवन निर्माणका एक सय ८० वटा आयोजनामध्ये एक सय ३३ र अन्य सार्वजनिक निर्माणका ३१ मध्ये २६ योजना सम्पन्न भएको छ ।
संघीय सशर्त अनुदानअन्तर्गत ८८ वटा सडक निर्माण आयोजनामध्ये ७२ वटा सम्पन्न भएका छन् भने सडक पुल निर्माणका ३४ आयोजनामध्ये ६ वटा सम्पन्न भएका छन् । संघीय समपूरक अनुदानतर्फ सडक निर्माणका ४० आयोजनामा २८ वटा सम्पन्न भएको छ ।
भौतिक पूर्वाधारका ३६५ बहुवर्षीय आयोजना
प्रदेशमा सडक, पुल तथा भवन निर्माणका ३ सय ६५ बहुवर्षीय आयोजनाहरु सञ्चालनमा रहेका छन् । गत आर्थिक वर्षमा प्रदेश सरकारले आन्तरिक तथा संघीय अनुदानमार्फत् ३ सय ६५ बहुवर्षीय योजनाहरु कार्यान्वयनको चरणमा रहेको छ ।
प्रदेश सरकारले आन्तरिक स्रोततर्फबाट गत आर्थिक वर्षमा सडक निर्माणका एक सय ६२ आयोजनाहरु कार्यान्वयन गरेको थियो भने सडक पुल निर्माणका एक सय ६ आयोजना, झोलुंगे पुल निर्माण १४, भवन निर्माण २४ र अन्य सार्वजनिक निर्माणका ५ वटा बहुवर्षीय आयोजना कार्यान्वयनमा रहेका छन् ।
संघीय सशर्त अनुदानवापत प्रदेशमा सडक निर्माणका ११ र सडक पुल निर्माणका १९ वटा बहुवर्षीय योजना कार्यान्वयनमा रहेको छ । समपूरक अनुदानअन्तर्गत सडक निर्माणका १३ वटा, विषेश अनुदानतर्फ भवन निर्माणका बहुवर्षीय २ आयोजनाहरु कार्यान्वयनमा रहेका छन् ।