हेटौँडाः हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्ट एन्ड सोसियल साइन्सेसको आयोजनामा बास्केटबल प्रतियोगिता सुरु भएको छ । आइतबार म्यानेजमेन्टको आफ्नै बास्केटबल कोर्टमा प्रतियोगिता सुरु भएको हो ।
म्यानेजमेन्टका सहायक प्रिन्सिपल रामपण्डित खनालको अध्यक्षता तथा म्यानेजमेन्टको कक्षा ११ र १२ को व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम पोखरेलको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन कार्यक्रम भएको हो । कार्यक्रममा म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशीको पनि आतिथ्य रहेको थियो । आइतबार दुई खेल सम्पन्न भएको छ । पहिलो खेलमा बीसीएले होटल म्यानेजमेन्टलाई ४०–१९ को फराकिलो स्कोरमा पराजित गरेको छ । यस्तै दोस्रो खेलमा बीआईएमले कक्षा–११ व्यवस्थापन संकायलाई ५३–२६ अंकको फराकिलो अन्तरले पराजित गरेको छ ।
गत वर्ष पनि म्यानेजमेन्टले बास्केटबल प्रतियोगिता आयोजना गरेको थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै सहायक प्रिन्सिपल रामपण्डित खनालले म्यानेजमेन्टले नियमित पठनपाठनका साथसाथै विद्यार्थीलाई खेल क्षेत्रमा पनि सक्रिय रहने अवसर प्रदान गरेको बताउनुभयो । म्यानेजमेन्टले क्रिकेट, बास्केटबलको नियमित प्रशिक्षण गराउँदै प्रतियोगिता समेत आयोजना गर्दै गर्दा खेल क्षेत्रमा सहभागिताको अवसरकै कारण म्यानेजमेन्टलाई रोज्ने क्रम सुरु भएको बताउनुभयो । यस वर्ष प्रतियोगितामा ६ वटा पुरुष र २ वटा महिला गरी ८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ । प्रतियोगिताको विजेताले ७ हजार रुपैयाँ र उपविजेताले ५ हजार रुपैयाँसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।