हेटौँडाः मानवसेवा आश्रम हेटौँडाले मकवानपुरका स्थानीय तहहरुले अपेक्षाकृत सहयोग नगरेको गुनासो गरेको छ । आश्रमको मुख्य कार्यालय समेत रहेको हेटौँडास्थित आश्रममा बुधबार आयोजना गरेको एक अन्तरक्रियामा आश्रमका अध्यक्ष रामजी अधिकारीले तीनै तहका सरकार, व्यक्ति, समूह तथा विभिन्न सामाजिक संघ, संस्थाहरुको अनुदान र सहयोगबाट संस्था सञ्चालन भइरहेको भएपनि मुख्य कार्यालयकै रुपमा रहेको हेटौँडा आश्रमको प्रवद्र्धनमा भने यहाँका स्थानीय तहहरुले खासै चासो नदिएको गुनासो गर्नुभयो ।

“यो अन्तरक्रियाका लागि पनि यहाँका सबै पालिका प्रमुखहरुको हात–हातमा चिठ्ठी पुर्यायौं, सबैलाई व्यक्तिगत रुपमा फोन सम्पर्क पनि गर्यौं तर यो कार्यक्रम उहाँहरुको प्राथमिकतामा परेन”, उहाँले गुनासो गर्नुभयो । कार्यक्रममा जनप्रतिनिधिका रुपमा मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी पाख्रिनको मात्रै उपस्थिति रहेको थियो । आश्रम संचालन गर्न मासिक २० लाख रुपैयाँभन्दा बढि रकम खर्च हुने गरेको अधिकारीको भनाई छ । आश्रममा आश्रित दुई सय २५ जना सहयोगापेक्षीहरुको खानपिन, स्वास्थ्य तथा सरसफाई लयायतमा उक्त रकम खर्च हुने गरेको उहाँले बताउनुभयो ।

दातृ संस्थाहरुबाट बेवास्ता भइरहे अबदेखि संस्थाले कसैलाई पनि उद्दार गरेर संरक्षण गर्न नसक्ने गम्भीर अवस्थामा रहेको उहाँको भनाई छ । कार्यक्रममा सहभागी हुनुभएका जिल्ला समन्वय समितिका संयोजक ललित घलानले आश्रमलाई जिल्ला समन्वयको तर्फबाट गनुपर्ने सहयोग उच्च सम्मानका साथ गर्ने बताउनुभयो । उहाँले हेटौँडामा मानवसेवा आश्रमको मूख्य कार्यालय नै स्थापना भएर मकवानपुर नेपालकै पहिलो सडक मानवमुक्त जिल्ला घोषणा भएको परिप्रेक्षमा मकवानपुरवासीको गौरवको विषय भएको पनि चर्चा गर्नुभयो । “झट्ट हेर्दा यस्तो भैसक्यो, लक्ष्मीनारायण (आश्रममा आश्रित बृद्धबृद्धा) लाई टहरामा राख्नु पनि त भएन ।” आश्रमको सुविधा सम्पन्न भवन लक्षित विचार राख्दै उहाँले सेवाआश्रमको मिहिनेतको सम्मान गर्दै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

हालसम्म नेपालको २ वटा प्रदेश, ३ वटा जिल्ला, ६ वटा पालिका र २ वटा पूण्य क्षेत्रलाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त क्षेत्र घोषणा गरिएको जानकारी गराइएको थियो । मकवानपुरलाई २०७४ साल फागुन ४ गते सहयोगापेक्षी सडकआश्रित मानवमुक्त जिल्ला घोषणा गरिएको हो । मानवसेवा आश्रमले २०८२ सालभित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल घोषणा गर्ने लक्ष्यसहित काम गरिरहेको छ ।