हेटौँडाः हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ । आउँदो शुक्रबार हेटौँडा–४ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको हो ।
बुधबार पत्रकार सम्मेलन गर्दै वडाले बालमैत्री घोषणा कार्यक्रमका लागि तयारी पूरा गरेको जानकारी गराएको छ । “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ लाई निकृष्ट बालश्रममुक्त, बालविवाहमुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न लागिएको हो ।
वडालाई नेपाल सरकारको मापदण्डको आधारमा तयार भएको बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सूचकहरुमा अभ्यास गरी ५१ वटा सूचकहरुमध्ये ४९ वटा सूचकहरु शत्प्रतिशत, २ वटा सूचकमा ९५ प्रतिशत नतिजा हासिल गर्दै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने अवस्थामा आइपुगेको वडा सदस्य एवम् बालमैत्री वडा घोषणा समारोह समितिकी सह–संयोजक गीता त्रिपाठीले जानकारी दिनुभयो । वडाभित्र १८ वर्ष मुनिका बालबालिकाको जनसंख्या ४ हजार २ सय ७० रहेको, जसमा २ हजार २ सय ५१ जना बालक रहेका छन् भने २ हजार १९ जना बालिका छन् ।
यसैगरी वडाको समुदायस्तरमा ११ वटा र विद्यालयस्तरमा ९ वटा बालसमूह सञ्जाल गरी २० वटा बाल समूह सञ्जाल रहेको छ जसमा ४ सय ७५ जना बालबालिकाहरु आवद्ध छन् । वडाले शुक्रबार बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणासँगै तेस्रो बृहत् शैक्षिक प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरेको छ । शैक्षिक प्रदर्शनी कार्यक्रममा १८ वटा समूहको सहभागिता हुने त्रिपाठीले बताउनुभयो ।
वडाले शुक्रबार बिहान ७ बजे हुप्रचौरदेखि कार्यक्रमस्थल रोयल पार्टी प्यालेससम्म बाजागाजासहितको ¥याली निकाल्ने छ । उत्कृष्ट र्याली प्रदर्शन गर्ने ३ वटा टोलीलाई पुरस्कार समेत प्रदान गरिने त्रिपाठीले बताउनुभयो । वडालाई बालमैत्री स्थानीय शासन, निकृष्ट बालश्रम, बालविवाहमुक्त बनाउने अभियानमा सहयोग गर्ने व्यक्ति तथा संघ, संस्थाहरुलाई पुरस्कृत गरिने त्रिपाठीले बताउनुभयो ।
घोषणा कार्यक्रममा वडाभित्रका ८ वटा विद्यालयको समूहले निर्माण गरेको विज्ञान, गणित र सामाजिक विषयसँग सम्बन्धित सामग्रीको स्टल राखी प्रस्तुत गरिनेछ । उक्त कार्यक्रममा वडा भित्रका सबै विद्यालयको बालबालिका मार्फत खाना महोत्सव समेत राखिने भएको छ । प्रत्येक विधामा उत्कृष्ट प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीको समूह र उक्त विधासँग सम्बन्धित विषय शिक्षकलाई पुरस्कृत समेत गरिने उहाँको भनाई छ । वडाले घोषणा कार्यक्रममा करिब ८ लाख खर्च हुने अनुमान गरिएको छ । यसअघि हेटौँडा उपमहानगरपालिकाको २, ७, ८, १०, १७ नम्बर वडा बालमैत्री वडा घोषणा भइसकेका छन् ।