हेटौंडाः मकवानपुरमा मंगलबार २० जनामा डेंगु र ११ जनामा स्क्रब टाइफस पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरले सार्वजनिक गरेको विवरणअनुसार मंगलबार २० जनामा डेंगु र ११ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको हो ।
डेंगु संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका १६ जना छन् । यसैगरी थाहा नगरपालिका, मनहरी गाउँपालिका र मकवानपुरगढी गाउँपालिका १/१ जनामा डेंगु पुष्टि भएको छ । डेंगु पुष्टि हुनेमा एकजना भने जिल्ला बाहिरका रहेका छन् । चालु आर्थिक वर्षको साउन महिनायता जिल्लामा ३ सय २५ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ । डेंगु पुष्टि हुनेमा एक सय ६४ जना पुरुष र एक सय ६१ जना महिला रहेको तथ्याङ्कले जनाएको छ ।
यस्तै, मंगलबारमात्र जिल्लामा ११ जनामा स्क्रब टाइफस पुष्टि भएको छ । स्क्रब टाइफस पुष्टि हुनेमा हेटौंडाका ६ जना, मनहरी गाउँपालिका र भीमफेदी गाउँपालिकाका २–२ जना र मकवानपुरगढी गाउँपालिकाका एक जना बासिन्दा रहेका छन् । साउनयता जिल्लामा एक सय ५६ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भइसकेको छ । जसमा पुरुष ५५ जना र महिला एक सय एक जना रहेको कार्यालयको तथ्याङ्क छ । जिल्लामा सबैभन्दा बढि हेटौंडा उपमहानगरपालिकाका बासिन्दामा डेंगु र स्क्रब टाइफस पुष्टि भएको छ ।