हेटौँडाः अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आइतबार हेटौँडा अस्पताललाई पुस्तक हस्तान्तरण गरिएको छ । भर्ना भएर उपचाररत विरामी र तिनका कुरुवालाई अध्ययनको अवसर रहोस् भनी समृद्ध समाज दैनिक र सचेत नागरिक युवा समूहले संयुक्तरुपमा हेटौँडा अस्पताललाई ८० थान पुस्तक हस्तान्तरण गरिएको हो ।
हेटौँडा अस्पतालको साधारण वार्ड र हाडजोर्नी वार्डमा २०÷२० थान तथा बालबालिका वार्डमा ८० थान पुस्तक हस्तान्तरण गरिएको छ । समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठ, सचेत नागरिक युवा समूहका अध्यक्ष शिवनारायण श्रेष्ठसहितको समूहले हेटौँडा अस्पतालका निर्देशक प्राध्यापक डा. धिरेन्द्र गिरी, अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका सदस्यद्वय उत्सव राज चौलागाई र हीरा वाईबाको उपस्थितिमा तीनवटै वार्डमा पुस्तक हस्तान्तरण गरेको हो ।
यसअघि पनि समृद्ध समाज दैनिकको वार्षिकोत्सवको अवसरमा हेटौँडा अस्पतालको तीनवटै वार्डका लागि पुस्तक हस्तान्तरण गरिएको थियो । पठन संस्कृतिको विकास गर्न र हेटौँडा अस्पतालमा उपचाररत विरामी र तिनका कुरुवाले पुस्तक अध्ययन गरेर सकारात्मक मनस्थिति विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले बताउनुभएको छ ।