हेटौंडाः बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले संविधानको व्यवस्थाअनुसार महिलाहरुले अधिकार प्राप्त गर्न नसकेको बताउनुभएको छ । मन्त्री काफ्लेले राज्यका विभिन्न निकायमा महिलाहरुको पहुँच देखिए पनि सो पर्याप्त नभएको बताउनुभयो ।
हेटौँडा–२ स्थित रेडियो मकवानपुरले आयोजना गरेको तीज विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री काफ्लेले महिलाहरुलाई अधिकार सम्पन्न र आत्मनिर्भर बनाउन प्रदेश सरकारले ठोस योजना तयार गर्ने बताउनुभयो । पिछडिएका महिलाहरुलाई राज्यको मूलधारमा ल्याउन सरकारले विभिन्न प्रकारका कार्यक्रमहरु ल्याउने उहाँको भनाइ छ । उहाँले प्रदेशका महिलाहरुलाई आर्थिक, सामाजिकरुपमा सवल बनाउन आफूले भूमिका खेल्ने बताउनुभयो । कार्यक्रममा बागमती प्रदेशसभा सदस्य लक्ष्मीदेवी श्रेष्ठले संविधानका व्यवस्थालाई आफूअनुकूल व्याख्या गरे समावेशितामाथि खेलवाड गरेको बताउनुभयो । संविधानले दिएको उपाध्यक्ष पदमा समेत राजनीतिज्ञहरुले अनूकलतामा व्याख्या गरेर हस्तक्षेप गरेको उहाँले बताउनुभयो ।
कार्यक्रममा जागरुक महिला सम्मानबाट खेलकर्मी र डकर्मी महिलालाई सम्मान गरिएको थियो । हरितालिका तीजको अवसरमा आयोजित उक्त कार्यक्रममा डकर्मी र खेलकर्मी २ महिलालाई सामुदायिक सम्मान प्रदान गरेको हो । सम्मानित हुनेमा हेटौंडा–५ की खेलकर्मी सरेशा ढुंगाना र हेटौंडा–१९, बस्तीपुरकी डकर्मी गौरीमाया सिन्तान रहेकी छिन् । ढुंगाना तीन दशकदेखि तेक्वान्दो खेलसँग आवद्ध रहेकी छिन् भने सिन्तान १२ वर्षदेखि डकर्मी पेशामा रहेकी छिन् ।
ढुंगाना मकवानपुरबाट तेक्वान्दो खेलको पहिलो महिला मेडलिष्ट हुन् । सिन्तान भने आर्थिक अवस्था कमजोर भएपछि घर बनाउने काममा लागेर महिला मिस्त्रीका रुपमा परिचित रहेकी छिन् । दुबै जनालाई जनही नगद १० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको हो ।