हेटौँडाः हिन्दु नेपाली महिलाले मनाउने चाड तीज अन्तर्गत आज बिहिबार दरखाने दिन । विभिन्न मीठा परिकारका साथ दर खाइँदैछ । दुःख भुलाउन भोलिपल्ट बस्ने हरितालिका तीजको अवसरमा महिला दिदी बहिनीलाई दर खुवाउने गरिन्छ । दर खाने दिनदेखि हरितालिका तीज सुरु हुन्छ । टाढाका चेलीबेटी यस दिन माइतीघर वा आफन्तकहाँ खिर, गुँद, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ, फलफूललगायतका मिठा परिकारलाई दरको रुपमा खाने गर्दछन् ।
दर खाएको भोलिपल्ट निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक भएको खानेकुरा खाने चलन रहेको छ । हरितालिका तीजका बेला पानीसमेत नखाई ब्रत बस्ने र धेरै नाचगान गरिने हुनाले शक्ति आवश्यक हुन्छ । दरखाने समय र स्थान भने ठाउँ अनुसार फरक फरक रहेको छ । कतै साँझमा अन्य चीज नखाई दर खाने प्रचलन छ भने कतिपय स्थानमा पहिला खाना खाएर मध्य रातमा दर खाने गरिन्छ । पहिलेका दिनमा हरितालिका दिनको एक दिनमात्र दरखाने परम्परा रहेको थियो भने आजभोलि एक महिना अघिदेखि नै दर खाने प्रचलन सुरु भएको छ ।
परपूर्वक कालमा देवी पार्वतीले शिवलाई स्वामी पाउँ भनी निराहार ब्रत बसेको र सोही उनको कामना पूरा भएको विश्वासका आधारमा राम्रो पति पाउन र विवाहितहरुले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै ब्रत बस्ने चलन रहेको छ ।