हेटौंडाः मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगिताअन्तर्गत सोमबार चार खेल सम्पन्न भएको छ । हेटौंडा–६ स्थित गौरीटार रंगशालामा दुई तथा हेटौंडा–११ स्थित सिमलटार मैदानमा दुई गरी चार खेल सम्पन्न भएको हो । मकवानपुर जिल्ला फुटबल संघका महासचिव छवि सुवेदीका अनुसार सोमबार गौरीटार रंगशालामा भएको पहिलो खेलमा पशुपति युवा क्लबले विजयी सुरुवात गरेको छ । युनाइटेड नाइनलाई २–१ गोलले हराउँदै पशुपतिले विजयी सुरुवात गरेको हो ।
गौरीटारमै भएको दोस्रो खेलमा परेली युवा क्लब र एफसी पोतालाले दुई–दुई गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । दुई टिमले एक–एक अंक बाँडेका हुन् ।
यस्तै, सिमलटार मैदानमा भएको पहिलो खेलमा सहिद स्मृति र हाँडीखोला युवा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । दुवै टिमले एक–एक अंक प्राप्त गरेको छ । उक्त मैदानमा भएको दोस्रो खेलमा एफसी चाइनालाई ७–० को फराकिलो गोलले हराउँदै प्रगतिशील क्लबले विजयी सुरुवात गरेको छ ।