नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश हो । यहाँ धेरै जातजाति, भाषाभाषी र संस्कृति भएका कारण धेरै कुरामा विविधता पाइन्छ । नेपालमा मनाइने चाडपर्वले पनि जातीय एवम् सांस्कृतिक विविधतालाई उजागर गर्दछ । नेपालमा धेरै प्रकारका चाडपर्वहरु मनाइन्छ । जाति तथा समुदाय विशेषले मनाउने यस्ता चाडपर्वले हामीलाई सांस्कृृतिक रुपमा सम्पन्न बनाएको छ । हाम्रो मौलिक संस्कृति र परम्पराको पहिचान बन्दै आएका कतिपय चाडपर्व भने पछिल्लो समय विकृत बनिरहेको छ । बाह्य संस्कृतिको प्रभाव एवम् सांस्कृतिक विचलनका कारण कतिपय चाडपर्वहरुमा विभिन्न विकृतिहरु देखिने गरेको पाइन्छ । हाम्रो पहिचान र संस्कृति बन्नुपर्ने चाडपर्वमा देखिएका विकृतिले अनेकौं समस्या निम्त्याइरहेको छ । विकृति बढ्दै गएको चाडपर्वमध्ये तीज पनि एउटा हो । तीजको अवसरमा खाइने दर र तीज गीतमा बढी विकृति देखिने गरेको छ ।

तीज नेपाली महिलाहरुको एउटा महान चाड हो । तीज पौराणिक कालदेखि चलिआएको धार्मिक एवम् सांस्कृतिक पर्व पनि हो । पूर्वीय मान्यताअनुसार सृष्टि र समाज सञ्चालनका लागि महिलाहरुले विवाह गरेपछि आफ्नो श्रीमानको घरमा बसी बाँकी जीवन बिताउनुपर्ने हुन्छ । विवाहपश्चात् महिलाले आफू जन्मेको घर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छाडी श्रीमानको घरमा जीवन बिताउनुपर्छ । माइतीबाट टाढा रहँदा माइतीको याद आउनु स्वभाविक हो । यसरी माइतीको याद मेटाउने र माइतीसँगको पुनर्मिलन गराउने एउटा महत्वपूर्ण पर्व हो, तीज । तीजको महिमा त्यतिमा मात्र सिमित नभएर धार्मिक आस्थासँग पनि जोडिएको छ । भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइने तीजमा दर खाने, व्रत बस्ने, विशेष स्नान र पूजा गर्ने गरिन्छ ।

यसवर्षको तीज बिहीबारबाट सुरु हुँदैछ । तीजमा महिलाहरुले आफ्ना माइतीमा गएर दरको रुपमा मीठो खानेकुरा खाने गर्दछन् । धार्मिक मान्यता अनुसार तीजमा ब्रत बस्नाले आफ्ना पतिलगायत परिवारजनको आयु लामो हुने विश्वास गरिन्छ । अविवाहिता महिलाले तीजमा ब्रत बस्दा योग्य वर प्राप्त हुने विश्वास पनि गरिन्छ । तीजको धार्मिक महत्व जे–जस्तो भए पनि यसको सामाजिक पक्ष पनि उत्तिकै महत्वपूर्ण छ । विवाहपछि पराइघरमा गएर भोगेका दुःख, पीडा एवम् तनावलाई उजागर गर्ने माध्यम तीजलाई बनाउने गरिएको छ । चेली र माइतीको सम्बन्ध प्रगाढ बनाउन यो पर्वको ठूलो भूमिका छ । महिलाले आफूले भोगेका पीडा र वेदनालाई तीज गीतमार्फत् उजागर गर्ने गरेको भए पनि आजभोलि तीज गीतको नाममा छाडापन र अन्य विकृति बढिरहेको छ । तीजको व्रत बस्ने अघिल्लो राति माइतीमा गएर खाने गरिएको दर अहिले तीज आउनुभन्दा महिनौं अघिदेखि खाने र खुवाउने गरिन्छ ।

तीजको अवसरमा दर खानु वा खुवाउनुलाई सकारात्मक मान्नुपर्ने भए पनि महिनौं अघिदेखि दर खाने परम्परा उचित होइन । विभिन्न कार्यालय, संघसंस्था, व्यक्ति तथा समूहमा दरको नाममा भोज गर्ने परिपाटी बढ्दै जाँदा दरको संस्कृति विकृति बनिरहेको छ । यसल अनावश्यक खर्च र तडकभडकलाई प्रोत्साहित गर्ने निश्चित छ । तीजमा व्रत बस्नुपर्ने भएकाले अघिल्लो दिन आडिलो र मिठो परिकार बनाएर दर खाने हो । महिनौं अघिदेखि दरको नाममा खाने भनेको एक प्रकारको भोजजस्तै हो । यस्ता भोजलाई दर मान्न सकिन्न । तीज नआउँदै खाने दर संस्कृति हो कि विकृति ? सबैले सोच्नुपर्ने समय भइसकेको छ । तीज पर्वलाई खाने, खुवाउने र अनावश्यक गहना, पोशाक प्रदर्शन गर्ने माध्यम बनाउनु उचित हुँदैन । दरको नाममा गरिने भोज एक प्रकारको फजुल खर्च हो । यसले दरको संस्कृतिमात्र होइन तीज पर्वलाई नै विकृतिपूर्ण बनाउँदै लगेको छ ।