हेटौँडाः हेटौँडा–४ स्थित गोल्ड जीमले डेढ करोड रुपैयाँ लगानी थपेर स्तरोन्नति गरेको छ । हेटौँडा–४, पारिजातपथमा ७ वर्षअघि सञ्चालनमा आएको गोल्ड जीम अहिले हेटौँडा–४, हुप्रचौरको पूर्वीगेट अगाडि सरेको छ । शनिबार शुभ साइतमा जीम क्लबमा पुजा गरिएको छ । आईतबारदेखि नियमित जीम गराइने सञ्चालक विनोद आचार्यले जानकारी दिनुभयो।
हुप्रचौर नजिकै २ कठ्ठा जमिन लिजमा लिएर जीम क्लबका सञ्चालक आफैँले संरचना निर्माण गरेको हो। गोल्ड जीमका सञ्चालक विनोद आचार्यका अनुसार स्वास्थ्य र शारीरिक सुगठनप्रति आम मानिसको सकारात्मक धारणा र बुझाईका कारण जीम क्लब व्यावसायिक समेत बनेको छ। स्तरोन्नति गरेसँगै एकपटकमा एक सय भन्दा बढीले जीम गर्न सक्ने अर्का सञ्चालक हेमन्त श्रेष्ठले जानकारी दिनुभयो।
’स्तरोन्नतिसँगै अहिले हामीसँग छ हजार वर्गफिट क्षेत्रफल भएको छ। खुल्ला र सहजरुपमा एक सयभन्दा बढीले जीम गर्न सक्नेछन्’, सञ्चालक श्रेष्ठले भन्नुभयो, ’यसअघि एकपटकमा हामीले बढीमा ६० जनालाई सेवा दिन सकेका थियौँ।’ बिहान ५ बजेदेखि राती १० बजेसम्म निरन्तर जीम सञ्चालनमा रहने र एकपटकमा एकजना व्यक्तिले बढीमा २ घण्टा जीम गर्ने सञ्चालक श्रेष्ठको भनाइ छ । क्लबले ४ जना प्रशिक्षकको व्यवस्था गरेको छ।