हेटौंडाः मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाई र संयोजक चिरञ्जीवी चुँडाललाई विदाई गरिएको छ । प्रतिष्ठानले शुक्रबार एक कार्यक्रमका बीच रजिष्ट्रार प्रसाई र संयोजक चुँडाललाई विदाई गरेको हो । प्रतिष्ठानमा ४ वर्षे कार्यकाल पूरा गर्नुभएका दुबैजनालाई विदाई गरिएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानकी लक्ष्मी पौडेलले बताउनुभयो ।
४ वर्षअघि तत्कालिन मुख्यमन्त्री डोरमणि पौडेलले २०७७ साल भदौ १५ गते रजिष्ट्रार प्रसाई र संयोजक चुँडाललाई एकै दिन नियुक्त गर्नुभएको थियो । प्रतिष्ठानका निमित्त उपकुलपति डा. सुरेन्द्र शेरचनको अध्यक्षतामा विदाई कार्यक्रम भएको हो । विदाई कार्यक्रममा प्रतिष्ठानकी डीन दुर्गा कुमारी खड्का मिश्र, हेटौंडा अस्पतालका निर्देशक डा. धिरेन्द्र गिरी, मेडिकल सुपरिडेन्टेन्ट डा. रामचन्द्र सापकोटा, अस्पताल व्यवस्थापन समितिका सदस्य र प्रतिष्ठानका विभाग प्रमुखहरुको उपस्थिति रहेको थियो । प्रतिष्ठानमा उपकुलपति, रजिष्ट्रार र संयोजकको पद रिक्त भएको छ । एक महिना अगाडि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. विश्वराज जोशीलाई विदाई गरिएको थियो ।