हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेश सरकार व्यवसायीहरुको लगानीलाई सुरक्षित गर्न तयार रहेको बताउनुभएको छ । बिहीबार हेटौंडामा आयोजित नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ बागमती प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री लामाले प्रदेश सरकारले व्यवसायीहरुको लगानी सुरक्षा गर्ने बताउनुभएको हो ।
यातायात व्यवसायमा संलग्न लगानीकर्ताहरुलाई आफ्नो लगानीेको सुरक्षा महसुस गराउन प्रदेश सरकारले वातावरण तयार गरिदिने मुख्यमन्त्री लामाले बताउनुभयो । प्रदेश सरकार व्यवसायीहरुसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको भन्दै उहाँले चाँडै यातायात व्यवसायीहरुको समस्यालाई समाधान गर्र्नुपर्ने बताउनुभयो । यस क्षेत्रको समस्यालाई समाधान गर्न राज्य पक्ष र व्यवसायी पक्ष बसेर ऐन नै परिवर्तन गर्नुपरे पनि गर्ने उहाँको भनाइ छ ।

अहिले वर्षाद्को समय र चाडपर्व नजिक रहेको सन्दर्भमा सवारी दुर्घटनाहरु बढी हुने भन्दै यस समस्या समाधान गर्न सबै जिम्मेवार हुनुपर्ने बताउनुभयो । राम्रो तयारी गरेका चालकहरुले लाइसेन्स पाउनुपर्ने खालको व्यवस्था गरी सबैलाई उत्तरदायी बनाउन आवश्यक रहेको उहाँको भनाई छ । व्यवसायीहरुको समस्यालाई कसरी समाधान गर्ने भन्ने सरकारको चासोको विषय बनेको उहाँले बताउनुभयो । उहाँले कर प्रणालीलाई व्यवस्थित गर्न जतिखेर पनि तिर्न सकिने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।

यस्तै, संघका केन्द्रीय अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले अहिले यातायात ट्राफिक र सडक दुर्घटनाका समस्या भोग्नुपरेको बताउनुभयो । उहाँले बिग्रिएको सडकहरु चाँडो मर्मत गर्न र अनावश्यक रुपमा ट्राफिकबाट चेकिङको नाममा पाइरहेको समस्या समाधान गर्न सरकारले ध्यान दिन आवश्यक रहेको बताउनुभयो । आफूहरुले व्यवसायमात्र नभई राज्य र जनताको सेवा पनि गरिरहेको उहाँको भनाइ छ ।
संघका केन्द्रीय उपाध्यक्ष विजयबहादुर स्वारको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सरकारका आर्थिक मामिलामन्त्री कुन्दनराज काफ्ले, प्रदेश सरकार आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, विनाविभागीय मन्त्री मधुकुमार श्रेष्ठ, प्रदेश संसदीय दलका मुख्य सचेतक गोविन्द लम्साल, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा र मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण गुप्ता अग्रवाललगायतको आतिथ्य रहेको थियो ।