हेटौंडाः मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा आज शुक्रबारबाट जिल्ला लिग फुटबल प्रतियोगिता हुँदैछ । हेटौंडा–११ स्थित सिमलटार मैदानमा हुने उद्घाटन खेलमा साविक विजेता न्यू डाँफे युवा क्लब र महावीर क्लबबीच प्रतिस्पर्धा हुनेछ । करिब ४ वर्षको अन्तरालमा हुन लागेको प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाले गर्नुहुनेछ । जिल्ला फुटबल संघका पदाधिकारीहरुको उपस्थितिमा संघको कार्यालयमा सोमबार २८ वटा टिमहरुलाई प्रत्येक समूहमा ७ वटाको दरले ४ समूहमा विभाजन गरिएको छ । जिल्ला लिगको प्रत्येक समूहको वरियताक्रमको आधारमा क्लबलाई ए, बी र सी डिभिजनमा छुट्याइने छ ।
कोरोनाको कारण सञ्चालन हुन नसकेको लिग प्रतियोगिता यस वर्षबाट सञ्चालन हुन लागेको अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामाले बताउनुभएको छ । २ वर्ष पहिला लिग सञ्चालन गर्ने प्रयास गर्दा लिग स्थगित भएको बताउनुहुँदै अध्यक्ष लामाले त्यसपछि प्रतियोगिता आयोजना गर्न नसकेको जानकारी दिनुभयो । जिल्ला लिग फुटबल प्रतिायोगिताको उपाधि विजेता टिमले असोज महिनामा हुने बागमती प्रदेश लिग फुटबल प्रतियोगितामा सहभागी हुन पाउने उहाँले बताउनुभयो ।
प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र र उपविजेता टिमले पचास हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता आयोजनाका लागि करिब १२ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ । ४ वर्षअघिको प्रतियोगितामा हेटौंडा–१७ स्थित हटिया स्पोर्टस् उपविजेता बनेको थियो । प्रतियोगितालाई छिट्टै सम्पन्न गर्नका लागि हेटौंडा–६ स्थित गौरीटार रंगशालमा पनि खेल सञ्चालन गरिनेछ । प्रतियोगिताको फाइनल खेल असोज ९ गते हुनेछ ।