ध्यानाकर्षण पत्र बुझाउँदै ।

हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघ (मउवासंघ)ले तत्काल विशेष नगरसभा गर्न हेटौंडा उपमहानगरपालिकाको ध्यानाकर्षण गराएको छ । हेटौंडा उपमहानगरपालिकाले गरेको कर तथा राजश्वको दर वृद्धिको निर्णय फिर्ता गराउन संघले विशेष नगरसभा डाक्न माग गरेको हो ।

हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ का लागि विभिन्न प्रकारका व्यावसायिक कर तथा राजश्वको दरमा १५० प्रतिशतसम्म वृद्धि गरेपछि व्यवसायीले त्यसको विरोध गर्दै आएका छन् । मउवासंघ, मकवानपुर निर्माण व्यवसायी संघलगायत व्यावसायिक संघसंस्थाले उपमहानगर नेतृत्वलाई करवृद्धिको निर्णय फिर्ता लिन गरेको मागमा बेवास्ता गरेपछि व्यवसायी आन्दोलित भएका थिए ।मउवासंघको अगुवाइमा गत साउन १८ गतेदेखि ३२ गतेसम्म विभिन्न चरणमा आन्दोलन गरिएको थियो । उक्त आन्दोलनकै क्रममा साउन ३२ गते मउवासंघ र उपमहानगरबीच वार्ता भई ८ बुँदे समझदारी भएको थियो ।

सबै शीर्षकमा वृद्धि गरिएको कर फिर्ता गरी पुरानै दर कायम गरिनुपर्ने व्यवसायीको माग सम्बोधनका लागि समझदारीको पहिलो बुँदामै नगरसभासमक्ष पेश गर्ने भनिए पनि नगरसभा नडाकिएको भन्दै ध्यानाकर्षण गरिएको हो ।बुधबार संघले उपमहानगरपालिकालाई पत्र लेख्दै तत्काल विशेष समझदारीको बुँदा नम्बर १ लाई निःशर्त कार्यान्वयनका लागि जोडदार मागसहित ध्यानाकर्षण गराइएको छ । समझदारी भएको दुई साता हुन लाग्दासमेत नगरसभा आयोजना गर्ने कुनै औपचारिक पहल नगरेको भन्दै संघले सम्झौताको इमानदार पालनाको अभाव देखिएको ध्यानाकर्षणपत्रमा उल्लेख छ । ध्यानाकर्षणपत्रमा भनिएको छ– ‘उद्योगी, व्यवसायीबाट बढेको कर निरन्तर असुल्दै जाने र समझदारी गरेर आन्दोलनलाई स्थगित गराइ कमजोर बनाउने मक्सद त हैन भन्ने संशय पैदा गरेको छ ।’मउवासंघ र उपमहानगरपालिकाबीच भएका सहमतिहरु यथासक्य चाँडो कार्यान्वयन नहुने अवस्था भएमा फेरि पनि उद्योगी/व्यवसायीहरु आन्दोलनमा जानुको विकल्प नभएको पत्रमार्फत् जानकारी गराइएको छ ।