हेटौंडाः मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा आउँदो शुक्रबारबाट जिल्ला लिग फुटबल प्रतियोगिता हुँदैछ । करिब ४ वर्षको अन्तरालमा हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता न्यू डाँफे युथ क्लब र महावीर क्लबबीच प्रतिस्पर्धा हुनेछ । हेटौंडा–११ स्थित सिमलटारको खेलमैदानमा सुरु हुने प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले गर्नुहुनेछ । जिल्ला फुटबल संघका पदाधिकारीहरुको उपस्थितिमा संघको कार्यालयमा सोमबार २८ वटा टिमहरुलाई प्रत्येक समूहमा ७ वटाको दरले ४ समूहमा विभाजन गरिएको संघका उपाध्यक्ष युवराज लामाले जानकारी दिनुभएको छ । अहिले उद्घाटन खेलमा प्रतिस्पर्धा गर्ने क्लबहरुमात्र टुंगो लागेको र प्रतियोगिताको खेल तालिका पूर्णरुपमा आज मंगलबार सार्वजानिक गरिने उपाध्यक्ष लामाले बताउनुभयो ।
संघका उपाध्यक्ष लामाका अनुसार करिब ४ वर्षको अन्तरालमा सञ्चालन हुन लागेको जिल्ला लिगको प्रत्येक समूहको वरियताक्रमको आधारमा क्लबलाई ए, बी र सी डिभिजनमा छुट्याइने छ । समूह चरणको खेल सम्पन्न भएपछि क्वार्टरफाइनल कि प्रिक्वार्टरफाइनल खेल सञ्चालन गर्ने कुराको टुंगो नलागेको उहाँको भनाइ छ । संघको कार्यसमिति बैठकले भदौ ७ गते फुटबल प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरे पनि समय अनुकूल नभएको भन्दै एक साता पछि सारेको उहाँले बताउनुभयो ।
कोरोनाको कारण सञ्चालन हुन नसकेको लिग प्रतियोगिता यस वर्षबाट सञ्चालन हुन लागेको अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामाले बताउनुभएको छ । २ वर्ष पहिला लिग सञ्चालन गर्ने प्रयास गर्दा लिग स्थगित भएको बताउनुहुँदै अध्यक्ष लामाले त्यसपछि प्रतियोगिता आयोजना गर्न नसकेको जानकारी दिनुभयो । ‘हामीले प्रणाली बनाइसकेका छौं’, अध्यक्ष लामाले भन्नुभयो– ‘अब जिल्ला लिग फुटबल प्रतियोगितालाई निरन्तरता दिनका लागि प्रयास गर्नेछौं ।’
जिल्ला लिग फुटबल प्रतिायोगिताको उपाधि विजेता टिमले असोज महिनामा हुने बागमती प्रदेश लिग फुटबल प्रतियोगितामा सहभागी हुन पाउने उहाँले बताउनुभयो । प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र र उपविजेता टिमले पचास हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता आयोजनाका लागि करिब १२ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ ।
४ वर्षअघिको प्रतियोगितामा हेटौंडा–१७ स्थित हटिया स्पोर्टस् उपविजेता बनेको थियो ।