हेटौँडाः सयपत्री युवा क्लबको आयोजनामा मकवानपुरको मनहरी गाउँपालिकामा जारी प्रथम संस्करणको जोन राना मगर स्मृति फुटबल प्रतियोगितामा राइनो एफसी क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आइतबार एफसी मनहरीलाई राइनो एफसीले ३–१ गोलअन्तरले पराजित गरेको हो । राइनोको जीतमा साजन श्रेष्ठले दुई गोल गरे भने अनिल नेपालीले एक गोल गर्दै टिमलाई जीत दिलाएका हुन् ।
मनहरीको तर्फबाट सुमित श्रेष्ठले एक गोल गर्न सफल भए । म्यान अफ द म्याच राइनो एफसीबाट साजन श्रेष्ठ घोषित भए । उनले मायाको चिनो र नगद पुरस्कार प्राप्त गरे । यस्तै, आइतबार नै भएको दोस्रो खेलमा लालीगुरास क्लब विजयी भएको छ । प्रथम संस्करणको मिलन–धर्मराज स्मृति फुटबल प्रतियोगिताको आयोजक एफसी सिम्पानी युथ क्लबलाई २–० गोलले पराजित गर्दै लालीगुरास विजयी भएको हो । लाली गुरासको जीतमा पहिलो गोल अमीत थापा मगरले गरे भने दोस्रो गोल सागर तामाङले गरे । म्यान अफ द म्याच अमीत थापा मगर घोषित भएका छन् ।