गुगल तस्विर

हेटौंडाः नेपालभर डेंगु संक्रमितको संख्या बढ्दै गएको छ । नेपालको केहि स्थानमा डेंगुको जोखिम बिस्तारै बढिरहेको पाइएको छ । मकवानपुर जिल्लामा बिहीबारमात्र १० जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

डेंगु पुष्टि हुनेमा ९ जना हेटौंडा उपमहानगरपालिकाका बासिन्दा रहेका छन् भने एक जना मकवानपुरगढी गाउँपालिकाका रहेका छन् । जनस्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्कअनुसार साउन महिनादेखि हालसम्म जिल्लामा एक सय ३० जनामा डेंगु पुष्टि भइसकेको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिकामा सबैभन्दा बढि डेंगु संक्रमण पुष्टि भएको छ । हेटौंडामा मात्र ९४ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।

यस्तै, मनहरी गाउँपालिकाका १५ जना, मकवानपुरगढी गाउँपालिकाका ७ जना, बकैया गाउँपालिकाका ५ जना, भीमफेदी गाउँपालिकाका ३ जना एवम् बागमती र कैलाश गाउँपालिकाका एक–एक जनामा डेंगु संक्रमण पुष्टि भइसकेको तथ्याङ्कमा उल्लेख छ । मकवानपुर जिल्लाका इन्द्रसरोवर गाउँपालिका, थाहा नगरपालिका र राक्सिराङ गाउँपालिकामा मात्र डेंगु देखिएको छैन । ठेगाना नखुलेको एक जना र अन्य जिल्लाबाट ३ जनामा डेंगु पुष्टि भएको छ ।

यस्तै, बागमती प्रदेशमा बुधबार २६ जनामा डेंगु पुष्टि भएको छ । बुधबार सबैभन्दा बढि चितवनमा १२ जनामा डेंगु संक्रमण पुष्टि भएको हो । काठमाडौंमा ९ जना र ललितपुरमा ५ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बागमती प्रदेशमा साउनदेखि हालसम्म ९ सय ६१ जनामा डेंगु देखिएको छ । प्रदेशमा साउन महिनामा ७ सय ७६ जनामा डेंगु पुष्टि भएको थियो । भदौ महिनाको १ गतेदेखि ५ गतेसम्म एक सय ८५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

प्रदेशमा सबैभन्दा बढि चितवनमा ४ सय ५९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । बढि डेंगु संक्रमण पुष्टि हुने दोस्रो र तेस्रो स्थानमा क्रमशः काठमाडौं र मकवानपुर जिल्ला छन् । काठमाडौंमा २ सय १७ जना र मकवानपुरमा एक सय २० जनामा डेंगु देखिएको हो । यस्तै, ललितपुरमा ८७ जना, काभे्रमा४९ जना, भक्तपुरमा १७ जना, दोलखामा ८ जना एवम् नुवाकोट, रामेछाप, सिन्धुपाल्चोक र सिन्धुलीमा एक–एक जनामा डेंगु संक्रमण पुष्टि भएको छ । प्रदेशको रसुवा र धादिङ जिल्लामा अहिलेसम्म डेंगु संक्रमित भेटिएको छैन ।