हेटौंडाः जिल्ला प्रहरी कार्यालय बाराले प्रहरी निरीक्षक किसन बस्नेतलाई महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको छ । जिल्ला प्रहरी कार्यालय बारामा प्रहरी निरीक्षक बस्नेतलाई साउन महिनाको उत्कृष्ट प्रहरी घोषित गर्दै सम्मानपत्र प्रदान गरेको हो ।

इलाका प्रहरी कार्यालय कोल्हवीमा कार्यरत बस्नेतले गत साउन १८ गते व्यक्तिगत जग्गामा अनाधिकृत रुपमा हुल हुज्जत गरेर जग्गाधनी तथा किसानहरुलाई धम्की दिई आक्रमण गरी खेतबारी कब्जा गर्न खोज्ने ७ जना व्यक्तिलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएका थिए । यस्ते, साउन ३१ गते ५ वर्षको बालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेपछि लुकीछिपी बसेका व्यक्तिलाई बस्नेतले पक्राउ गरी मुद्दा दर्ता गर्नुभएको छ ।

प्रहरी निरीक्षक बस्नेतले आफू रहेको कार्यालयमा आफ्नो मातहतमा कार्यरत रहेका प्रहरी कर्मचारीहरुलाई परिचालन गरी आफ्नो वडाका ठाउँहरुमा विभिन्न समयमा सिर्जित झै–झगडा तथा आपराधिक गतिविधिलाई नियन्त्रण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । सेवाग्राहीहरुलाई सहज तरिकाले सेवा प्रदान गरी विभागीय नीति निर्देशनलाई पूर्णरुपमा पालना गर्दै आफूलाई सुम्पिएको जिम्मेवारी कुशलताका साथ सम्पादन गरेकाले उत्कृष्ट कार्यको कदरस्वरूप प्रहरी निरीक्षक बस्नेतलाई पुरस्कृत गरेको प्रहरीले जानकारी दिएको छ ।