हेटौंडाः प्रदेशका विभिन्न जिल्लामा बाढीपहिरो गएर धनजनको क्षति भईरहेको अवस्थामा क्षति न्युनीकरण, उद्दार र राहतका निम्ति वागमती प्रदेश विपद व्यवस्थापन सम्बन्धमा हेटौडामा बिहिबार सरोकारावाला निकायका प्रतिनिधिको सहभागितामा आकस्मिक वैठक बसेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव विनोद प्रकाश सिंहको अध्यक्षतामा बसेको वैठकले आन्तरिक मामिला मन्त्रालयमा प्रदेश विपद व्यवस्थापन समन्वय इकाई स्थापना गर्ने निर्णय गरेको छ ।
आन्तरिक मामिला मन्त्रालयको अधिकृतको संयोजकत्वमा स्थापना गरेको समन्वय इकाईमा तीन वटै सुरक्षा निकायका प्रदेशस्तरीय प्रतिनिधी, प्रदेश पत्रकार महासंघ, रेडक्रस लगायतका संस्थाका प्रतिनिधि सदस्य रहने निर्णय गरेको छ । समन्वय इकाईले बाढीपहिरोको जोखिम क्षेत्रमा रहेकाहरुलाई स्थानीय प्रशासन र पालिकाहरु सँग समन्वय गरेर स्थानान्तरण, उद्दार र राहतको समन्वय गर्ने जनाएको छ । वैठकमा नेपाली सेनाको मध्यपृृतना हेडक्वाटरका महासेनानी प्रकाश थापाले वाग्मती प्रदेशका सबै जिल्लाहरुमा नेपाली सेनाले विपद् व्यवस्थापनको निम्ति जनशक्ति खटाएको र आवश्यक पर्ने उपकरणहरु तैनाथ गरेको जानकारी दिनुभयो । विपदमा परेकाहरुको उद्दार र राहतका लागि चितवनमा मध्यपृतनाले हेलिकोप्टरसमेत राखेको जानकारी गराउनुभएको छ ।
वैठकमा सशस्त्र प्रहरी बलका प्रहरी नायव महानिरिक्षक कृष्णभक्त वज्राचार्यले पनि विपद् व्यवस्थापनको तयारी बारेमा जानकारी गराउनुभएको थियो । बिहिबारको आकस्मिक वैठकमा हेटौंडास्थित बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) विज्ञान बस्नेतले विपद् व्यवस्थापन गर्नका लागि प्रदेश प्रहरी कार्यालय मातहत विपद् व्यवस्थापन गुल्मसमेत रहेको जानकारी गराउनुभयो । नेपाल रेडक्रस सोसाइटी बागमती प्रदेश समितिका सभापति भोला रुपाखेतीले रेडक्रसका प्रत्येक जिल्लामा सय जनालाई पुग्ने गैरखाद्य सामाग्रीहरु रहेको जानकारी गराउनुभयो ।