हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर–७ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ । शनिबार एक समारोहकोबीचमा हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाले वडालाई बालमैत्री शासनयुक्त वडा घोषणा गर्नुभएको हो ।
वडा–७ का वडाध्यक्ष तथा बालमैत्री वडा घोषणा मुल समारोहका समितिका संयोजक दामोदर दहालको सभाध्यक्षमा तथा नगर प्रमुख लामाको प्रमुख आतिथ्यमा बालमैत्री वडा घोषणा कार्यक्रम भएको हो । वडालाई बालमैत्री वडा घोषणा गर्नका लागि आवश्यक ५१ सूचकमध्ये ४६ वटा सूचक पूरा गरेर बालमैत्री वडा घोषणा गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगर प्रमुख लामाले बालबालिकाको भविष्य र अधिकारलाई सुनिश्चत गरेर उपमहानगरलाई शासनयुक्त घोषाणा छिट्टै गरिने बताउनुभयो । बालबालिाकाको चौतर्फी विकासका लागि उपमहानगरपालिकाले ठोस योजना सहित बजेट तर्जुमा गर्ने उहाँले बताउनुभयो ।
बालमैत्री वडा घोषणा मात्र भएर नपुग्ने भएकोले बालबालिकाको विकासका लागि कार्य गर्न सुरु गर्नुपर्ने उहाँले बताउनुभयो । बालबालिकाको भविष्य मानवको मात्र नभइ हेटौंडाको भविष्यसँग जोडिएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै हेटौंडा उपमहानगरपालिका प्रवक्ता एव्म १ नम्बर वडाका वडाध्यक्ष सवीन न्यौपानेले बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी भन्ने नारालाई सार्थक बनाएर तेस्रो वडाको रुपमा बालमैत्री वडा घोषण गर्न सफल भएको बताउनुभएको छ । उपमहानगरपालिकाका सबै मानिसहरुले बालबालिका माथी गरेको शोषणको र पढ्न उमेरमा होटलमा जस्ता ठाउँहरुमा काम गराएको कारणले उनीहरुको भविष्यमा परेको नकारात्मक प्रभावलाई बुझन आवश्यक रहेको कुरालाई प्रवक्ता न्यौपानेले औंल्याउनुभयो ।
हरेक वडामा वडास्तरीय बाल सञ्जालको समिति गठन गरेर उनीहरुको विकासका लागि काम गर्नुपर्ने प्रष्टपार्नुभयो । उपमहानगरपालिकाका हरेक वडालाई बालमैत्री वडा घोषणा गर्नका लागि नगर प्रमुख र उपप्रमुखले प्रतिनिधित्व गरेको उहाँको भनाई छ । हेटौंडा–७ बालमैत्री शासनयुक्त वडा घोषणा भएकोले वडामा बालबालिकालाई दवाव दिन नपाइने र विभिन्न विद्यालयका शिक्षकहरुले उनीहरुलाई अभद्र व्यवहार गर्न नपाउने दावी गर्नुभयो ।
बालमैत्री घोषणा कार्यक्रम अघि वडाका बालबालिका स्काउट नगर प्रहरी लगायतको सहभागितामा प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका नगर उपप्रमुख राजेश बानियाँ, उपमहानगरपालिकाकी महिला, बालबालिका तथा समावेशीकरण महाशाखा प्रमुख विष्णुकुमारी लामिछाने लगायत १९ वटा वडाका वडाध्यक्षहरुको उपस्थिति रहेको थियो ।
उपमहानगरपालिका भित्रको हेटौंडा–८ पहिलो र हेटौंडा–२ दोस्रो वडाको रुपमा बालमैत्री वडा घोषणा भइसकेको छ भने आउँदै भदौ ७ गते हेटौंडा–१७ लाई बालमैत्री शासनयुक्त वडा घोषणा गरिने छ ।