हेटौँडाः बागमती प्रदेश सरकारले विपद् व्यवस्थापन तथा न्यूनीकरणका लागि सुरक्षा निकायलाई सामग्री हस्तान्तरण गरेको छ । प्रदशेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तीनै तहका सुरक्षा निकायलाई विपद् उद्दार तथा राहत सामग्री हस्तान्तरण गरेको हो ।
शुक्रबार एक कार्यक्रमका बीच आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले सुरक्षा निकायका प्रादेशिक संरचनाका प्रमुखलाई विपद् खोज तथा उद्दार सामग्री हस्तान्तरण गर्नुभएको हो । मन्त्री लामिछानेले नेपाली सेनालाई ५७ प्रकृतिका दुई सय ५२ वटा सामान, सशस्त्र प्रहरी बललाई ६२ प्रकृतिका एक सय ५२ वटा सामान र नेपाल प्रहरीलाई ५६ प्रकृतिका एक सय ६२ वटा सामान हस्तान्तरण गर्नुभएको हो ।
सेनाका तर्फबाट सहायक रथी सुवासजंग थापा, सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक गणेश ठाडा मगरलाई र नेपाल प्रहरीका प्रहरी उपरीक्षक राकेश सिंहलाई विपद् उद्दार तथा राहत सामग्री हस्तान्तरण गरिएको हो । सुरक्षा निकायलाई विपद्को खोज तथा उद्दारमा सवल र सक्षम बनाउन उक्त सामग्री हस्तान्तरण गरिएको मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिनुभएको छ ।
प्रदेश सरकारका तर्फबाट तत्कालिन आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले सुरक्षा निकायसँगको निरन्तर छलफल र समन्वय गरी विपद् खोज तथा उद्दारका लागि ती सामग्री पहिचान गरिएको सचिव दर्जीले बताउनुभयो । सचिव दर्जीका अनुसार ४१ प्रकृतिका दुई सय ५२ वटा सामान प्रदेश गोदामघरमा सुरक्षित राखिएको छ । ती सामग्री आवश्यकता अनुसार सुरक्षा निकाय र विपद्ग्रस्त क्षेत्रमा पठाइने उहाँको भनाई छ ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री लामिछानेले विपद् व्यवस्थापनमा सम्बन्धित सबै निकायहरुले प्रभावकारी ढंगबाट काम गर्न निर्देशन दिनुभएको छ । उहाँले नागरिकको जीवन रक्षा सरकारको जिम्मेवारी रहेकाले त्यसतर्फ गम्भिर भएर काम गर्न उहाँले आग्रह गर्नुभयो । नागरिकलाई विपद्को समयमा सरकारले अभिभावकत्व प्रदान गर्नुपर्ने भएकाले सोही अनुसार मातहतका निकाय परिचालन गर्न पनि उहाँले आग्रह गर्नुभयो । मन्त्री लामिछानेले आगामी दिनमा सुरक्षा निकायसँगको समन्वयमा अझै परिस्कृत र उन्नत स्तरमा पुर्याउने बताउनुभयो ।